Logo

मदन भण्डारीको हत्यारा पत्ता लगाउनु एमालेका लागि चुनौती हो : डा. भट्टराई



काठमाडौं, ३ जेठ । नेकपा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराईले पार्टीका तत्कालीन महासचिव मदन भण्डारीको हत्या नै भएको दाबी गरेका छन् ।
‘त्यतिबेला मदन भण्डारीको जगमगाउँदो स्थिति थियो । मदनले बोलेको कुरामा मुलुक डोरिने स्थिति थियो । त्यसबाट अत्तालिएकाहरुले उहाँलाई षडयन्त्रपूर्वक हत्या गरे । त्यसको तथ्य र प्रमाण भनेको उहाँको ड्राइभर अमर लामालाई नै माओवादीका तर्फबाट मारियो । मदन भण्डारी र जीवराज आश्रितको हत्या कुन कुन तत्त्व मिलेर गरिएको थियो भन्ने कुरालाई ३० वर्षसम्म निष्कर्षमा पुर् याउन सकिएको छैन । यो एमालेका निम्ति चुनौती हो,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।
भण्डारीको हत्यारा पत्ता लाग्न नसकेको कुरालाई राजनीतीकरण गर्न नमिल्ने पनि डा. भट्टराईले बताए । उनले भने, ‘राष्ट्रपति केनेडीको हत्या कसरी भयो भन्ने कुरा अमेरिका जस्तो मुलुकले भन्न सकेको छैन । हाम्रै दरबार हत्याकाण्डमा पनि रहस्यमै छ । मदन भण्डारीको हत्यामा नेकपा एमालेको नियतलाई दोष दिएर राजनीतीकरण गर्नुभन्दा त्यसको प्रमाण जुटाउने कुरामा सहयोगी भूमिका गर्नु आवश्यक छ ।’
उनले मदन भण्डारीलाई नवीन विचारक, जनताको बहुदलीय जनवादका प्रणेता र कम्युनिन्स्ट आन्दोलनलाई प्रजातन्त्रीकरण गर्ने नेताका रुपमा स्मरण गरे । नेकपा एमालेका तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ मा चितवनको दासढुंगामा जिप दुर्घटनामा परी निधन भएको थियो । नेताद्वयको स्मृतिमा नेकपा एमालेले आज बिहान मदननगर, बल्खुमा पार्टी अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल लगायतको उपस्थितिमा श्रद्धाञ्जलि कार्यक्रम राखेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot