Logo

माफियाहरूले अदालत नै किन्ने धम्की दिए : पर्यटन मन्त्री किराँती



काठमाडौं, ३ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले स्वार्थ समूहहरुले मन्त्रालयका टेबल टेबलमा फाइल रोकेको आरोप लगाएका छन् ।
‘देश र जनताको काम गर्न खोज्दाखेरि टेबल टेबलमा फाइल रोक्न विभिन्न स्वार्थ समूह लाग्दा रहेछन् । टेबल टेबलमा फाइल हराउँछ । फाइलको पछि मन्त्री नै लाग्नुपर्दो रहेछ,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।
मन्त्री किराँतीले पुरानो ऐन कानुन नसच्चाएसम्म जनताको काम गर्न नसकिने पनि सुनाए । उनले भने, ‘नेपालमा प्रधानमन्त्री आफैंमा कानुन हो । तर प्रधानमन्त्रीले चार महिनाअगाडि विदेशबाट आउने श्रमिकलाई एउटा मोबाइल ल्याउन दिनू भन्नुभयो तर त्यसको कार्यान्वयन भएन । मैले सातचोटि क्याबिनेटमा कुरा राखेपछि बल्ल एउटा मोबाइल दिने कुरा भएको छ । जसको रेमिट्यान्सले देश चलेको छ, उसलाई एउटा मोबाइल ल्याउन नदिने ?’
माफियाहरुले आफूलाई अदालत नै किन्ने धम्की दिएको पनि उनले बताए । किराँतीले भने, ‘मुलुकका १८ वटा एयरपोर्ट चलेका छैनन् । कर्मचारीहरुसँग मैले तिनलाई चलाउने व्यावसायिक योजना मागें । उनीहरुले जहाज किन्ने योजना ल्याए । त्यसपछि माफियाहरु सलबलाए । सुरुमा मलाई नै प्रलोभन दिए, पार्टीलाई कति पैसा चाहिन्छ भने । मैले नटेरेपछि अदालत नै किन्ने धम्की दिए ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot