Logo

क्यान्सरसम्बन्धी निबन्ध लेखन प्रतियोगिता



काठमाडौं, ३ जेठ । क्यान्सर रोगसँग सम्बन्धित परामर्श र निबन्ध लेखन प्रशिक्षणसहितको इसान कृष्टिना निबन्ध लेखन प्रतियोगिता- २०८० राजधानीमा सम्पन्न भएको छ ।

कार्यक्रममा दियालो साहित्य सरगमकी अध्यक्ष तथा साहित्यकार शान्ति शर्माले आधुनिक उपचार पद्धतिका कारण चौथो चरणको क्यान्सरसमेत निको भएको आफ्नै उदाहरण प्रस्तुत गर्दै क्यान्सरलाई आत्मविश्वासले जितेर अवसरका रूपमा उपयोग गर्न सकिने र क्यान्सरपश्चात् अझै सुन्दर ढङ्गले जीवन चलाउन सकिने सुनाइन् ।

इसान पूर्व अध्यक्ष परिषदका अध्यक्ष राजकुमार श्रेष्ठले पुरस्कार दिने र निबन्ध लेखन सिकाउने मात्र नभएर क्यान्सर रोगविरुद्ध सचेतना फैलाउनु प्रतियोगिताको प्रमुख उद्देश्य रहेको बताए ।

जोरपाटीस्थित एम्बेसडर एकेडेमीका प्रिन्सिपल मोहन मल्लको सभापतित्वमा सञ्चालित कार्यक्रममा वाल्मीकि क्याम्पसका उपप्राध्यापक डा. शेखर दाहालले निबन्ध लेखनबारे प्रशिक्षण दिएका थिए ।

कक्षा ४ मा अध्ययन गर्दागर्दै क्यान्सर रोगका कारण निधन भएकी कृष्टिना भण्डारीको सम्झनामा क्यान्सर रोगलाई नै विषय बनाएर संस्थापक विद्यालय संघ नेपाल (इसान) ले हरेक वर्ष निबन्ध प्रतियोगिता आयोजना गर्दै आएको छ । कार्यक्रमको सञ्चालन इसानका महासचिव एवं अलमाइटी स्कुलका प्रिन्सिपल तथा साहित्यकार गणेशप्रसाद खतिवडाले गरेका थिए ।

प्रतियोगितामा विभिन्न ३२ विद्यालयका ३८ जना विद्यार्थीको सहभागिता थियो । पुरस्कार वितरण अर्को कार्यक्रममा गरिने आयोजकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्