Logo

पार्टी विभाजनको परिकल्पना गरेका छैनौं : कांग्रेस नेता खड्का (अन्तर्वाता)



काठमाडौं, ३ जेठ । नेपाली कांग्रेसका नेता भरतबहादुर खड्काले पार्टी विभाजनको परिकल्पना नभएको स्पष्ट पारेका छन्। नेपाली रेडियो नेटवर्क ( एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’ का लागि मंगलबार बिहान पत्रकार ऋषि धमलासँग संवाद गर्दै कांग्रेस नेता खड्काले पार्टी विभाजनको परिकल्पना स्पष्ट पारेका छन्। प्रस्तुत छ अन्तर्वाताको सम्पादीत अंश :
-हिजो तपाईंहरुले पार्टीभित्र संघर्ष गर्ने भन्नुभयो किन? के कारण?

संघर्ष गर्ने भनेर निर्णय भएको छैन। त्यो अलिकति बुझाईको कमजोरी जस्तो लाग्छ। नेपाली कांग्रसले यथास्थितमा हामीले अगाडि बढाउन सक्दैनौं। नेपाली कांग्रेसभित्र व्यापक सुधार गर्नुपर्छ। सबै तहका केन्द्रदेखि गाउँस्तरसम्मका साथीहरुको चिन्ताको विषय पनि हो। सकेसम्म यो केन्द्रीय कार्य समिति र सरोकारवालाले गर्नुपर्छ भन्ने मान्यता थियो। तर, केन्द्रीय कार्यसमिति १० महिना भयो मिटिङ बसेको छैन।

देशमा धेरै ठूलठूला घट्नाहरु घटेका छन्। धेरै किसिमका कुराहरु पनि आएका छन्। जसको समीक्षा विश्लेषण पनि भएको छैन। आगामी कार्यदिशा कांग्रेसको के हो? भन्ने कुरा स्पष्ट नभएको हुनाले कसैले यसको सुधारका पक्षमा सुरुवात गर्नु पर्यो। हामी गुटउपगुट कुनै आग्रह र पूर्वाग्रहका हिसाबमा नभएर, पार्टीलाई समय सापेक्ष ढङ्गले यसलाई रुपान्तरण गर्ने।

कुनै व्यक्ति विषेश नभएर आफूबाट परिवर्तन गरेर हामीले एउटा सबल सक्षम भरपर्दो कांग्रसको रुपमा यसलाई स्थापित गरौं। अर्को पुस्तालाई राम्रो कांग्रेस दिनु पर्छ। जुन विधीविधान पद्धतिसम्म प्रणालीबाट चलेको होस्। संस्थागत ढङ्गले यो अगाडि बढोस्। भन्ने मान्यताका साथ हामीले यसलाई अगाडि बढाएका छौं।

-तपाईंहरुले अगाडी बढाउनुभयो। तर, पार्टी सभापति शेरबहादुर देउवाको कार्य शैलीको विरुद्ध तपाईंहरु अब सडकदेखि संसद्‍सम्म पार्टीभित्र पनि संघर्ष गर्ने निर्णयमा पुग्नु भएको छ। पार्टीका महामन्त्री गगन थापाले भन्नुभएको छ, अपराधको भारी पार्टीले बोक्न सक्दैन। अपराधीलाई संरक्षण गर्नु हुँदैन। बालकृष्ण खाँणलाई पार्टीबाट निष्कासन गर्नुपर्छ भन्ने प्रतिक्रिया त आइ सक्यो नि?

यसमा महामन्त्रीजीको आफ्नो वचन छ। पार्टीभित्र पनि ति कुराहरु चलेका छन्। शुद्ध तरिकाले पार्टी सभापतिजीलाई पनि क्रियासिल बनाउने खालको हाम्रो अभियान हो।

-तपाईंहरुको अभियान अहिलेको अवस्थामा पनि पार्टीलाई सुधार्ने कि शेरबहादुर देउवालाई पार्टीबाट हटाउने हो?

स्रोत बनाएर पार्टीबाट कसैलाई हटाउने कसैलाई घटाउने यो किसिमको अभियान होईन। तपाईंहरु जस्तो सञ्चार क्षेत्रको मूर्धन्य व्यक्ति हुनुहुन्छ। कांग्रेस सुधारियोस वा सपरियोस् भन्ने तपाईंहरु सबैको चिन्ताको विषय हो। कांग्रेस बिग्रियो भने मुलुक बिग्रिन्छ। त्यसैले निश्चितरुपमा एउटा शुद्ध नेपाली नागरिक र सचेत नागरिकको नाताले कांग्रेस के अहिले सुधारिएको छ त? छैन। त्यसैले यसको जवाफ सभापतिले लिनै पर्छ। नेता हो जवाफ उहाँलाई जान्छ। त्यसैले यो अभियानबाट उहाँलाई पनि बल पुर्याउने। क्रियाशिल बनाउने। हामी सबैले आफैमा माथिदेखि तलसम्म आफूलाई रुपान्तरण गरौं। कमि कमजोरी भएका छन्। जसका कारणले यति ठूलो क्षति व्यहोर्नु परेको हो।

-तपाईंहरुले पार्टीलाई रुपान्तरण गर्ने भन्दै अभियान सुरु गर्नु भएको छ। जुन अभियान तपाईंहरुले हिजोबाट सुरु गर्नु भयो। पत्रकार सम्मेलन गरेर सात ओटा प्रदेशमा भेला बोलाउनुभएको छ। त्यहाँ पार्टीको संस्थागत विकासका लागि, संगठन शुद्धिकरण अथवा अहिलेको नेतृत्वलाई काम गर्नको लागि सजिलो होस् भन्ने तपाईंहरुको चाहाना होला? तर, कांग्रेसमा दुई धार। दुई विचार, दुई नेतृत्व देखियो। अब कांग्रेस विभाजनतिर जान लागेको हो?

होईन। यसको परिकल्पना नै घटेको छैन।

-धेरैले भनेका छन्। अब कांग्रेस फुटको संघारमा पुग्यो?

हामीले यहाँ पार्टीलाई विभाजन गर्ने होईन। यो कुरा हाम्रो क्रियाकलाप र व्यवहारले देखाउला। हामी असल नियतका साथ अगाडि बढेका छौं। हाम्रो विधानमा नेपाली कांग्रेसको क्रियासिल सदस्यभित्र पार्टीको हितमा काम गर्ने, पार्टीलाई राम्रो बनाउनतर्फ काम गर्ने भन्ने कर्तव्य अथवा दायित्व भित्र पर्छ। हामीलाई राम्रो काम गर्नका लागि कसैले छेकबार गर्न सक्दैन। पार्टीलाई अति गुटबन्दी बनाउने किसिमको नियतकासाथ आएको छैन। यो भोलि हाम्रो क्रियाकलापबाट यस कुराको निर्धारण हुन्छ।

शुद्ध तरिकाले कुनै पक्ष र विपक्षको कुरा होईन। भोलि पार्टी रुपान्तरणको प्रक्रियामा माहामन्त्रीहरु अर्को पनि आउन चाहादैनन् भने नआउँदा हुन्छ। उनी पनि छुटिएर जान्छन्। उनी पनि ब्याक हुन सक्छन्। यो सबैको साझा एजेन्डा हो। यो कुनै आवेसमा आएर, रहरमा आएर तत्काल निर्णय गरेको विषय होईन।

यसका लागि तीन/चार मिनेट सबै पक्षको छलफल गरेर यो किसिमले हामी अगाडि बढ्नुको विकल्प छैन। पार्टी यथास्थितिमा रहदैँन। यो पार्टीमा राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सक्ने हैसियत पनि हामीले राख्नुपर्छ। पार्टीको संस्थागत विकासका लागि हामी लागेका छौं।

-तपाईंहरु पार्टीको संस्थागत विकासका लागि लाग्नु भएको होला। तर, कांग्रेस अहिले गुटैगुटमा रुपान्तरीत भइसक्यो। हिजो कांग्रेसका प्रवक्ताले खाँण दोषी प्रमाणित नभएकाले उनलाई निलम्बन नगरेको हो। अहिले उहाँलाई पार्टीमा हामी यथावत राख्छौं, कारवाही गर्नुपर्ने कारण अथवा आधार छैन भनेर उहाँले प्रतिक्रिया दिनुभयो।

प्रकाशसरण महतजीले दिने प्रतिक्रिया हो। त्यो मामिलामा उहाँ स्वतत्र हुनुहुन्छ। हामी सबैको चाहाना पार्टीले पनि विज्ञप्ति निकालेको छ। कुनै पनि दोषी यदि कसैले गलत गरेको छ भने त्यसलाई कडा कारवाही गर्नुपर्छ भन्ने पार्टीको अभिव्यक्ति पनि हो। त्यसैले दूधको दूध पानीको पानी हुनुपर्छ। गलत गर्ने दण्डित हुनुपर्छ। गलत नगर्ने पर्नु हुँदैन। एउटा सिद्धान्त भित्र पर्छ। यो अत्यन्तै लजास्पद कुरा हो भ्रष्टाचार त गर्थे-गर्थे। यो मानव तस्करपनि हो।

राष्ट्रको बेइज्जत भएको छ। यत्रो ठूलो बेइज्जत भएको छ। यो बारेमा समीक्षा विश्लेशण नगर्ने? यो इन्साफमा जाँदाफेरि अबको दृष्टीकोण के हुने हो? भन्ने कुरा पार्टीको नेतृत्वले यसबारेमा कुनै किसिमको प्रतिक्रिया नदिएपछि यो जीवन्तको र विचारको पार्टी हो। यहाँ वौद्धिक मान्छेहरु छन्। यो पार्टीभित्र कसले खराब गरेको छ। कसले ठिक गरेको छ। यसको सहि बिश्लेसण गरेर त्यसलाई त्यही ढङगले व्यबस्थापन गर्ने हैसियत राख्नुपर्यो।

-तपाईं चाहानुहुन्छ बालकृष्ण खाँणलाई पार्टीबाट हटाउनु पर्छ? तपाईंको समूहको चाहना पनि त्यहीँ हो?

हाम्रो समूह छैन। बालकृष्ण खाँणसँगै काम गरेका साथी हुन्। उहाँलाई अहिले आरोप प्रमाणित भएको छैन। आरोपित हुनुहुन्छ। यदि उहाँको गल्ती छ भने उहाँलाई दण्ड दिनुपर्छ। यदि उहाँ निर्दोष भए छुटकारा दिनुपर्छ। त्यसैले फलानोलाई दण्ड दिने नदिने भन्ने कुरा भन्दा पनि गलत गर्ने जो कोहि होस् त्यसलाई दण्ड दिनुपर्छ। निर्दोष छ भने त्यसको चरित्र हत्या गर्नु हुँदैन। फसाउनु हुँदैन। दण्ड दिने नदिने भन्ने कुरा मेरो अधिकारको कुरा पनि होईन। त्यो भोलि अनुसन्धानको क्रममा गल्ति देखियो भने त्यसको दण्डको भागी जो सुकैले पनि भोग्नु पर्छ। यथास्थितिमा यहीँ हिसाबको कांग्रेस अगाडि बढ्न सक्दैन। यसलाई रुपान्तरित गर्नैपर्छ। निर्मम तरिकाले पार्टीलाई अगाडि बढाउनुको अर्को विकल्प छैन।

-अब कांग्रेसलाई सुधार्नका लागि तपाईंहरुको अभियान अगाडि बढी रहँदा कांग्रेस यति कमजोर छ। तपाईंलाई थाहा छ। जनमत कांग्रेसमा खस्केको छ। उपनिर्वाचनले देखाईसक्यो तपाईंहरु कहाँ हुनुहुन्छ। अब यो अवस्थामा कांग्रेस एक भएन भने कांग्रेसका नेताहरु मिल्न सकेनन् भने अब तपाईहरुसंग विकल्प के छ? भ्रष्टाचारविरुद्ध पार्टी बन्ने कि? भ्रष्टाचारको संरक्षण गर्ने?

कसैको स्वार्थ पूरा गर्ने थलो पार्टी होईन। यो राष्ट्र, जनता र लोकतन्त्रका लागि बनाईएको पार्टी हो। जनताको पहिलो सर्त भनेको व्यक्तिगत स्वतन्त्रताको रक्षा गर्नका लागि बनेको पार्टी हो। यो पार्टी मार्फत सुशासनद्धारा आर्थिक समृद्धी मिलेर राष्ट्रलाई सबल बनाउनका लागि गठित पार्टी हो। धेरै ठूलो ऐतिहासिक संघर्ष गरेर घट्ना दुर्घटना खाएर आएको पार्टी हो। त्यसैले यहाँ कसैले आफ्नो इच्छाको कुरा गर्ने थलो पनि होईन। अब एजेन्डा अथवा नीतिले नेतृत्व लिन्छ।

-रेशम चौधरीलाई फेरिपनि जन्म कैदको सजाय सर्वोच्च अदालतले गर्यो। तपाईं के भन्नुहुन्छ?

न्यायलयले गरेको प्रमाणप्रति मेरो टिका टिप्पणी छैन। न्यालयप्रति सबैले विश्वास राख्नुपर्छ।



प्रतिक्रिया दिनुहोस्