Logo

आजपाद्वारा कोशी प्रदेश नामाकरणविरुद्धको आन्दोलनमा ऐक्यवद्धता



काठमाडौं, जेठ ५ । आम जनता पार्टी (आजपा) ले कोशी प्रदेश नामाकरण विरुद्धको आन्दोलनमा ऐक्यवद्धता जनाएको छ ।

पार्टी केन्द्रीय कार्यालय काठमाडौंमा बसेको पदाधिकारीको बैठकले कोशी प्रदेश नामाकरण विरुद्धको आन्दोलनलाई साथ दिने तथा आन्दोलनरत पक्षको माग सम्बोधन गराउन सरकारलाई दबाव दिने निर्णय गरेको छ ।

पार्टी प्रवक्ता चन्द्रभुषण साहले देशमा पार्टी संगठन विस्तार गर्ने अनुकूल माहौल बन्दै बैठकको निष्कर्ष रहेको बताए । देशमा बढ्दो बेथिति, लुट, भ्रष्टाचार र विभेदविरुद्ध पार्टी सशक्त ढंगले प्रस्तुत हुने निष्कर्ष निकाल्दै भ्रष्टाचार, कुशासन तथा विभेदविरुद्धको आन्दोलनलाई शसक्त बनाउँने उनले बताए ।

यस्तै बैठकले आइटी आर्मी, आम दलित मोर्चा र आम किसान मोर्चाको केन्द्रीय समितिलाई पूर्णता दिने निर्णय गरेको पार्टी प्रवक्ता साहले जनाएका छन् । यस अघि पार्टीले निर्णय गरेको जागरण यात्रा तत्कालका लागि स्थगन गर्ने निर्णय बैठकले गरेको छ । पार्टीले यस अघि १८ जेठ देखी मेची महाकाली जागरण यात्रा गर्ने निर्णय गरेको थियो ।

यस्तै पार्टीले प्रदेश कमिटीलाई पूर्णता, बाँकी रहेका जिल्लाहरुको भेला तथा जनवर्गीय संगठनहरुको केन्द्रीय समितिको बैठक अगाडि बढाउने निर्णय गरेको छ । बैठकले पार्टीको केन्द्रीय कमिटीमा लखिन्दर साह, चन्देश्वर यादव र ममता शर्मालाई मनोनित गरेको छ ।

आजपा अध्यक्ष प्रभु साहको अध्यक्षतामा बसेको बैठकले पछिल्लो राजनीतिक, आर्थिक लगायतका बिषयमा समिक्षा गर्दै भ्रष्टाचार, कुशासन, अनियमितता लगायतका बिरुद्धमा शसक्त रुपमा आवाज उठाउँने निर्णय गरेको छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot