Logo

‘हिन्दूराष्ट्र बनाउन भारु र क्रिस्चियन बढाउन डलर ओइरिँदा धार्मिक द्वन्द्व मच्चिन सक्छ’



काठमाडौं, ५ जेठ । नेकपा एमालेका नेता एवं सांसद रघुजी पन्तले हिजो संसद्मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको जवाफबाट आफू सन्तुष्ट नभएको बताएका छन् ।
‘मैले तपाईं भारत भ्रमणमा जाँदा कालापानी, लिम्पियाधुरा र लिपुलेकको सीमा समस्या समाधान गर्नुहुन्छ भनेर सोधेको थिएँ । प्रधानमन्त्रीबाट मेरो प्रश्नको ठोस जवाफ आएन । प्रबुद्ध समूहले तयार पारेको प्रतिवेदनबारे पनि गोलमटोल र अमूर्त जवाफ दिनुभयो । संसदीय मर्यादाका कारण प्रतिप्रश्न गर्न पाइएन । त्यसैले म उहाँको जवाफबाट पूर्ण सन्तुष्ट छैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै पन्तले भने । साथै उनले प्रधानमन्त्री र सांसदको सवाल जवाफ कुनै नयाँ कुरा नभएको पनि बताए ।
एमाले नेता पन्तले क्यान्टोनमेन्टमा भएको भ्रष्टाचारमा प्रधानमन्त्री प्रचण्डले माओवादी अध्यक्षका नाताले नैतिक जिम्मेवारी लिनुपर्ने औंल्याए । उनले भने, ‘माओवादी नेताहरुले जति लडाकुको पैसा लिए, त्यहाँ त्यसको एक तिहाइ मान्छे पनि थिएनन् । एकजनाले तीनजनाको पैसा लिएर जाने र त्यसलाई रोक्न खोज्दा कर्मचारीहरुमाथि लम्कीझम्की गरेको कुरा त्यतिबेलै हामीलाई जानकारी थियो । प्रधानमन्त्री माधव नेपाल र हामी बसेर कुराकानी पनि गरेका थियौं । त्यस घोटालामा प्रचण्डले ठाडै पैसा बुझ्नुभएको छैन होला । तर नैतिक जिम्मेवारी त लिनैपर्छ नि ।’
उनले अघिल्लो वर्षको बजेटमा अनधिकृत मानिस राखेर करका दर हेरफेर गरेको सीसीटीभी फुटेजको छानबिन गर्न पनि प्रचण्डलाई चुनौती दिए । पन्तले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रधानमन्त्रीको साह्रै भर नभएको पनि टिप्पणी गरे । उनले भने, ‘यसमा चलखेल गर्ने नगर्ने प्रधानमन्त्रीको हातमा छ । तर मलाई प्रचण्डको साह्रै भर छैन । किनभने सरकार देउवाजीको मुठीमा छ । देउवाजीतिर लम्किन थाल्नुभयो भने सरकार ढल्छ ।’ शरणार्थी प्रकरणमा टेकनाथ रिजाल पक्राउ पर्नु दुःखद भएको पनि उनले बताए ।
भारतीय जनता पार्टीले भारु खर्च गरेर हिन्दूराष्ट्र बनाउने र अमेरिकाले डलर खर्च गरेर क्रिस्चियन बढाउने गतिवधिले धार्मिक द्वन्द्व मच्चिने अवस्था आउने चिन्ता पनि उनले प्रकट गरे ।

 



प्रतिक्रिया दिनुहोस्