Logo

सरकारले भ्रष्टाचारीलाई कारबाही गर्न थालेपछि रविले समर्थन फिर्ता लिएः नारायण दाहाल (अन्तरवार्ता)



काठमाडौं, ५ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले क्यान्टोनमेन्ट घोटला छानविन भएर दोषी पाइएमा जेल जान तयार रहेको बताएका छन् । संसद्मा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा उनले क्यान्टोनमेन्टको विषय तत्कालीन समयमा अडिट भएर पूर्णता पाइसकेको बताए । यसो त नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्रीदेखि उच्च पदस्त कर्मचारी पनि तानिएका छन् । यसै विषयमा रहेर नेकपा (माओवादी) केन्द्रका प्रभावशाली नेता एवं राष्ट्रिय सभा सदस्यसँग प्राइम टाइम्स टेलिभिजनका लागि पत्रकार ऋषि धमलाले गरेको संवादको सम्पादित अंशः

प्रधानमन्त्री जेल जान तयार हुन् त अब ?

त्यो पुष्टि हुँदैन । त्यो खाल्को पुष्टि भयो भने जान्छु भन्नु भएको हो । त्यो पुष्टि हुने कुरै होइन । पहिलो कुरा लडाकुको जुन सवाल हो त्यो विशिष्ट केशमा विशिष्ट ढंगले विशिष्ट निर्णय गरेर त्यो बेलाका प्रधानमन्त्री गिरिजाप्रसाद, अर्थमन्त्री रामशरण महत भएको बेलामा सबै प्रकृया टुंगिएको छ । त्यहाँ अनमिन छ, उसको रेखदेख छ । कति त्यहाँ थिए ? कति समायोजनमा गए ? कति अयोग्य भएर गए ? कति गोल्डेन हेन्डसेक लिएर गए ? भन्ने कुराको सबै एक–एक हिसाब किताव छ ।

लडाकु शिविरमा भ्रष्टाचार भएको छैन भनेर तपाईँ भन्न सक्नुहुन्छ ?

किन नसक्ने त ? नसकिकनै कसैले बोल्छ । त्यो संख्या बढाएर गएको भन्नेपनि प्रमाण चाहियो नि त ! त्यत्तिकै त्यत्रो लडाइ १० बर्ष लडिएको छ ? त्यतिकै ८० प्रतिशत भू–भाग सुसेलीको भरमा कब्जा भको हो ? त्यतिकै यत्रा युद्धका मैदानहरु त्यसै हासिल गरेको हो? यो हेर्नु पर्दैन् ? अहिलेका ज्ञानेन्द्र शाही जो उफ्रीउफ्री बोल्छन्, युद्ध गर्ने बेला बाटोमा दिसा गरेर हिड्ने उमेरका थिए । यिनलाई त थाहा थिएन युद्ध भनेको केहो ?

तर, ज्ञानेन्द्र शाहीले किन पछिल्लो समय प्रचण्डमाथि आक्रमण गरिरहनु भएको छ ?

त्यो त उनले जान्ने कुरा हो, मलाई त के थाहा ? उनले त के–के भन्छन् । उनलाई स्थापित हुनु छ यो देशमा । मान्छे दुई किसिमले स्थापित हुन्छ, एउटा उट्पट्याङ गरेर, अर्को जनताको विचार बोलेर । तिनले जनताको हितको निम्ति, अर्थतन्त्र सुधार्नको निम्ति के कुरा बोले ? केहि योजना पेश गरेका छन् ? बरु थोरै स्वर्णिम वाग्लेले पेश गर्न कोसिस गरेका छन् । त्यहापनि आग्रह पूर्वाग्रह व्यापक छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीहरुलाई कारबाही गर्नुपर्छ प्रधानमन्त्रीले भन्नुभएको छ । कुनैपनि हालतमा छोड्हुँदैन भन्नुभएको छ । तर, राष्ट्रि स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सार्वजनिक रुपमा भन्नुभयो, त्यसको जस म लिन्छु । किनभने मेरो कारणले गर्दा नेताहरु पक्राउ परेका हुन् । मैले पहिले बोलेको हो, अरुले होइन….

उहाँले अघिल्लो दिनसम्म समर्थन दिनुभएकाले थियो । जब सरकारले त्यो कदम चाल्यो, त्यसपछि सुइकुच्चा ठोकेर रातारात समर्थन फिर्ता लिने निर्णय गर्नुभयो । यस्ता केटाकेटी कुरा गर्ने ?



प्रतिक्रिया दिनुहोस्