Logo

पिताको पुन्यतिथिमा राहुलद्वारा भावपूर्ण श्रद्धाञ्जली



नयाँदिल्ली, ७ जेठ । काङ्ग्रेस नेता राहुल गान्धीले आफ्ना दिवङ्गत पिताको पुण्यतिथिमा भावुक हुँदै श्रद्धाञ्जलीका शब्द लेखेका छन् । पूर्वप्रधानमन्त्री राजीव गान्धीको ३२ औँ पुण्यतिथिमा उहाँका सुपुत्र राहुलले पिताजीलाई सम्झदै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका हुन्।

“बाबा, तपाईं सधैँ मेरो सम्झनामा हुनुहुन्छ, मेरो साथमा प्रेरणाको रूपमा हुनुहुन्छ,” राहुल गान्धीले हिन्दीमा ट्वीट गर्दै लेखेका छन् । साथै उनले आफ्नो पिताको जीवनकालका विभिन्न क्षणका भिडियो पनि सार्वजनिक गरेका छन्।

त्यसअघि राहुल गान्धी र उनकी बहिनी प्रियङ्का गान्धी वाड्राले राष्ट्रिय राजधानीको वीर भूमिमा पूर्वप्रधानमन्त्री राजीव गान्धीप्रति उनको ३२ औँ पुण्यतिथिमा पुष्पगुच्छासहित श्रद्धाञ्जली अर्पण गरेका थिए । काङ्ग्रेस संसदीय दलकी अध्यक्ष सोनिया गान्धी र पार्टी अध्यक्ष मल्लिकार्जुन खर्गेले पनि पूर्वप्रधानमन्त्री राजीव गान्धीप्रति श्रद्धाञ्जली अर्पण गरे ।

राजीव गान्धीले आफ्नी आमा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको हत्यापछि सन् १९८४ मा काङ्ग्रेसको नेतृत्व सम्हालेका थिए । अक्टोबर १९८४ मा ४० वर्षको उमेरमा प्रधानमन्त्रीको पदभार ग्रहण गरेर उनी भारतको सबैभन्दा कान्छो प्रधानमन्त्री बनेका थिए। उनले डिसेम्बर २ १९८९ सम्म प्रधानमन्त्रीका रुपमा भारतको सेवा गरेका थिए ।

सन् १९४४ को अगस्ट २० मा जन्मेका राजीव गान्धीलाई मे २१, १९९१ मा तमिलनाडुको श्रीपेरुम्बदुरमा चुनावी ¥यालीमा लिबरेशन टाइगर्स अफ तमिल इलम (लिट्टे) की एक किशोरीले आत्मघाती बम हमलामा मारेकी थिइन् । उक्त आक्रमणमा नेता गान्धीसहित १४ जनाको ज्यान गएको थियो भने ४३ जना गम्भीर घाइते भएका थिए । रासस/File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot