उपेन्द्र यादवले पार्टीबाट थप एक जनाको नाम मन्त्रीमा सिफारिश गर्दै, भोलि नै मन्त्रिपरिषद् विस्तारको तयारी


काठमाडौं, ८ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले भोलि (मंगलबार) मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । जनता समाजवादी पार्टीबाट मन्त्री बन्नेको नाम आज साँझसम्म प्राप्त हुने र भोलि नै नियुक्त गरेर शपथ गराउने प्रधानमन्त्री दाहालको तयारी छ । जसपाको संसदीय दलको आज बसेको बैठकले दलको नेतामा उपेन्द्र यादवलाई सर्वसम्मत् रुपमा चयन गरेको छ ।

दलको नेता चयन भएपछि यादवले पार्टीबाट सरकारमा सहभागी हुने एक जनाको नाम तय गरेको विश्वस्त स्रोतको दाबी छ । जसपाले दुई मन्त्रालय पाएको छ । यसअघि नै अशोक राई शिक्षा मन्त्रालयको नेतृत्व सम्हालेर सरकारमा गएका छन् । अब उसले वन तथा वातावरण मन्त्रालय पाउने भएको छ । उक्त मन्त्रालयमा कसलाई पठाउने भन्ने जिम्मा पार्टीले अध्यक्ष यादवलाई दिएको छ ।

यादवले आजै साँझ प्रधानमन्त्री दाहालसँग भेटवार्ता गर्ने र नाम दिने तयारी गरेका छन् । प्रधानमन्त्री दाहाल बजेट पारित भएलगत्तै भारत भ्रमणमा जाने भएकोले बजेट अघि नै सरकारलाई पूर्णता दिने मुडमा छन् । जसपाभित्र मन्त्री बन्ने आकांक्षीहरु धेरै भएकोले अध्यक्ष यादव यतिवेला दबाबमा छन् । जसपाबाट वीरेन्द्र प्रसाद महतो, प्रदीप यादव, राजकिशोर यादव र नवलकिशोर साहको नाम मन्त्रीको लागि चर्चामा छन् । File Photo