Logo

माओवादीलाई एमाले नेताको झटारो— बाँदरमुढे घटना मान्छेले नै गरेको हो त ?



काठमाडौं, ९ जेठ । नेकपा एमालेका नेता एवं सांसद ठाकुर गैरेले सरकारको नीति तथा कार्यक्रम अस्वीकार विरोधका लागि विरोध मात्र नभएको दाबी गरेका छन् ।
‘सरकारको नीति तथा कार्यक्रममा आजको नेपाल बोलिरहेको छैन । जनताको आवाज बोलिरहेको छैन । किन छैन भन्ने दर्जनौं उदारहण छन् । त्यसका १८८ बुँदामध्ये १२० बुँदामा औपचारिक रुपमा संशोधनको माग भएको छ । सत्तापक्षकै सांसदले पनि संशोधन माग गरेका छन् । कतिपयले १८८ बुँदामै संशोधन गर्नुपर्छ भन्नुभएको छ । विरोधका लागि विरोध भन्ने प्रश्नै भएन । सांसदले काम नपाएर, उपति नभएर, बिनासित्तिमा बोलिएका कुरा होइनन् नि,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।
सत्तापक्ष प्रमुख प्रतिपक्षी दलको सुझाव संसदमै कुल्चिने प्रयासमा रहेको आरोप पनि गैरेले लगाए । उनले थपे, ‘यो देश र जनताको पक्षमा राम्रो दस्तावेज बन्नुपर्छ भन्ने हाम्रो सुझाव हो । देश र जनताको नीति तथा कार्यक्रम बनोस् भनेर दिएको सुझाव सत्तापक्ष संसदमै कुल्चिने प्रयासमा छ । सत्तापक्षले बजेटको सिद्धान्त र प्राथमिकतामा पनि एक शब्द सुधार गर्न चाहेन । यसो गर्नु भनेको यो सरकार देश र जनताप्रति अनुदार छ र मुठीभरका दलाल पुँजीपतिको हित काम गर्छ भन्ने हो ।’
सरकारको नीति तथा कार्यक्रममा जनयुद्ध शब्द राखिएकामा नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले संसदमा स्पष्ट पार्नुपर्ने गैरेले औंल्याए । उनले भने, ‘संविधान बनाउँदादेखिका कुनै पनि दस्तावेजमा नलेखिएको शब्द राष्ट्रपतिको मुखबाट किन आयो भन्नु अपराध होइन । यसबारे शेरबहादुर देउवाले सदनमा अआएर जवाफ दिँदा भयो नि । त्यो शब्द गल्तीवश परेको हो कि औपचारिक रुपमा स्विकारेको हो ? हामी नेपाली कांग्रेसको जवाफको प्रतीक्षामा छौं । हामीले जनयुद्ध शब्द किन राखेको भनेर सोध्दा किन टाउको दुखाउनु ?’ उनले जनयुद्ध मानिसले लडेको हो भने पनि बाँदरमुढे घटना मान्छेले गरेको नलागेको पनि बताए ।
एमाले नेता गैरेले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन नेपाल प्रहरीले निष्पक्षतापूर्वक दिएको विश्वास गरेको पनि बताए । उनले भने, ‘जनताको चाहना भ्रष्टाचारीलाई दण्डित गर्नुपर्छ भन्ने हो । यो अनुसन्धान जारी हुनुपर्छ ।’ विगतका सबै भ्रष्टाचार काण्ड र उच्च पदस्थहरुको सम्पत्ति छानबिन हुनुपर्ने पनि गैरेले औंल्याए ।



प्रतिक्रिया दिनुहोस्