Logo

ओलीजी टाइम-टाइममा नचाहिने कुरा गर्नुहुन्छ : डा. दीक्षित



काठमाडौं, १० जेठ । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफू र आफ्नो पार्टीको अनावश्यक बचाउ गरिरहेको आरोप लगाएका छन् ।
‘ओलीजीले अस्ति संसदमा अर्थ न बर्थ दुई घन्टा बोल्नुभो । तथ्य एकदुई ठाउँमा मात्र छ । अरु सबै आफ्नो बडप्पन र बचाउमात्र छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा उहाँ आफू र आफ्नो पार्टीलाई बचाउन लाग्नुभएको छ । उहाँ टाइम-टाइममा नचाहिने कुरा गर्नुहुन्छ । उहाँले एकदमै गल्ती गर्नुभएको छ । ओलीको यही बोलीले खत्तम पारिसक्यो,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै डा. दीक्षितले भने । उनले संसदमा नयाँ सांसद स्वर्णिम वाग्ले, सोविता गौतम आदिले ठिक्क र ठ्याक्क बोलेको पनि बताए ।
नक्कली भुटानी शरणार्थी प्रकरण देशद्रोह भएकाले सबै भ्रष्टाचारीलाई कालकोठरीमा हाल्नुपर्ने पनि डा. दीक्षितले बताए । उनले भने, ‘यो लोकल होइन, अन्तर्राष्ट्रिय भ्रष्टाचार हो । अब सरकारी वकिलको कार्यालयले मुद्दा फितलो बनाउने आशंका छ । नारायणकाजी श्रेष्ठले अघि बढे पनि प्रचण्डले खुट्टा कमाउन सक्छन् । भ्रष्टाचारीलाई चीनमा जस्तो मृत्युदण्ड दिन नसके पनि कालकोठरीमा जाक्नैपर्छ । यो सफल नभए लोकतन्त्र र गणतन्त्र नै गुम्ने चान्स छ ।’ उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रश्न पनि गरे, ‘आरजु र मिसेज खाँडलाई किन सोधपुछ नगरेको ?’



प्रतिक्रिया दिनुहोस्