Logo

रेशम चौधरीलाई सरकारले उचित क्षतिपूर्तिसहित रिहा गर्नुपर्छ : सांसद चौधरी



काठमाडौं, १० जेठ । नेकपा (एकीकृत समाजवादी) का नेता एवं सांसद मेटमणि चौधरीले डिल्लीबजार कारागारमा रहेका रेशमलाल चौधरी चाँडै छुट्ने ठोकुवा गरेका छन् ।
‘नेपाल सरकारले रेशम चौधरीलाई ठूलो अन्याय गरेको छ । उहाँ सांसद निर्वाचित हुनुभयो । तर सरकारका कारण सांसदको भूमिका निर्वाह गर्न पाउनु भएन । आफ्नो क्षमता देखाउन पाउनु भएन । साइकालोजिकल्ली तनावमा हुुभयो । उहाँलाई पाँच पाँच वर्ष जेलमा राख्नु बेठिक हो । उहाँ छुट्नुु हुन्छ, छुट्नुपर्छ । अब सरकारले रेशमलाई उचित क्षतिपूर्तिसहित छाड्नुपर्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।
पूर्वमन्त्री समेत रहेका चौधरीले नक्कली शरणार्थी प्रकरणमा देशकै ठूलो बदनाम भएकाले त्यसमा मुछिएका तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री र सचिवलाई कारबाहीको दायरामा ल्याउनुपर्ने पनि औंल्याए । उनले यस प्रकरणमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गैरजिम्मेवार रुपमा प्रस्तुत भएको आरोप लगाए । चौधरीले थपे, ‘विपक्षी दलको, त्यो पनि गैरजिम्मेवार नेता भएपछि यस्तै त हुन्छ । जिम्मेवारी र जवाफदेहिता नभएकाले उहाँ यस्तै प्रतिक्रिया दिनुहुन्छ । यसको कुनै अर्थ छैन । नीति तथा कार्यक्रममा व्यक्तिगत र दलगत साइनो हुँदैन । ७० पेजमा १८८ बुँदा राष्ट्र र जनताका समस्यासँग सम्बन्धित छन् ।’
पहिलेकी राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको नागरिकता विधेयक अहिलेको राष्ट्रपतिलाई जस्ताको तस्तै गरिदेऊ भनेर दबाब दिन नमिल्ने पनि चौधरीले औंल्याए । उनले भने, ‘राष्ट्रपतिलाई हामीले जस्ताको तस्तै गरिदेऊ भनेर प्रेसर गर्ने कुरा आउँदैन । अहिले सरकार पनि अलग छ । संसद पनि नयाँ आएको छ । अब अर्को विधेयक बनाएर फेरि प्रमाणीकरणका लागि पठाउनुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्