Logo

स्वर्गीय बस्नेतको सम्झनामा शोकसभा



काठमाडौं, १० जेठ । जननायक बिपी कोइराला स्मृति ट्रस्टले लोकतान्त्रिक आन्दोलनका अथक योद्धा तथा वरिष्ठ साहित्यकार पुरुषोत्तम बस्नेतको सम्झनामा शोक सभा सम्पन्न भएको छ ।

बस्नेतको निधन भएको १३औं दिनको दिन आज (बुधबार) राजधानीको कालोपुलमा शोक सभा सम्पन्न भएको हो । शोक सभामा गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव, नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व सभामुखद्वय दमननाथ ढुंगाना र तारानाथ रानाभाट, पूर्व उपप्रधानमन्त्री सुजाता कोइराला एवं कांग्रेस दलका नेताहरू शशांक कोइराला, शेखर कोइराला, श्रीहर्ष कोइरालालगायतको उपस्थिति थियो ।

कार्यक्रममा क्रमशः स्व. पुरुषोत्तम बस्नेतको सम्झनामा मौनधारण, उनको तस्बिरमा पुष्प तथा माला अर्पण र श्रद्धाञ्जली मन्तव्य राखिएको थियो । श्रद्धाञ्जली सभामा प्राध्यापक डा. अभी सुवेदी, प्राध्यापक भुवन ढुंगाना, सांसद बद्री पाण्डे, डा. तुलसी भट्टराई, जुनार बस्नेत, र ट्रस्टका महासचिव रामचन्द्र पोखरेल लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले पठाएको समवेदना पत्र पनि वाचन गरिएको थियो । आफ्ना कोषाध्यक्षको सम्झनामा आयोजित यस श्रद्धान्जली सभामा संस्थाका कार्यकारी निर्देशक राजेन्द्र पराजुलीले स्व. बस्नेतका परिवारजनलाई सो संस्थाले दिएको स्मृतिपत्र वाचन गरेर सुनाए । कार्यक्रमको सञ्चालन सन्ध्या पहाडीले गरेकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्