Logo

विद्युतीय सवारीमा कर नबढाउन रास्वपा सांसद गौतमको ध्यानाकार्षण



काठमाडौं, १० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ एवं प्रतिनिधि सभा सदस्य सोबिता गौतमले विद्युतीय सवारी साधनमा कर बढाउने हल्ला चलेको भन्दै संसद्को ध्यानाकार्षण गराएकी छन् । आज (बुधबार) प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै उनले विभिन्न स्वार्थ समूह मिलेर विद्युतीय सवारीको कर बढाउने गाइँगुई चलेको भन्दै आपत्ति जनाएकी हुन् ।

देशमा बढ्दै गएको व्यापार घाटा न्युनीकरण र वातावरण सन्तुलनका लागि विद्युतीय गाडीलाई प्रोत्साहन गर्नुपर्ने र पेट्रोल, डिजेलबाट चल्ने सवारी साधनको प्रतिस्थापन गर्नुपर्ने उनको सुझाव छ ।

‘सरकरको नीति तथा कार्यक्रममा विद्युतीय सवारीको विषयमा आंशिक रुपमा समेटिएको देखिन्छ । विभिन्न स्वार्थ समूहको मिलेमतोमा विद्युतीय सवारी साधनको कर बढाउने भन्ने गाइँगुई सुनिन्छ,’– उनले भनिन् ।

विद्युतीय सवारी साधनलाई राजश्व संकलनको माध्यमका दृष्टिबाटमात्रै हेर्न नहुने उनले सरकारलाई सुझाव दिएकी छन् । विद्युतीय सवारीले पर्यावरणको संरक्षण र व्यापार घाटा न्युनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई छ । File Photo/Reporters Nepal 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot