Logo

अरू हाई प्रोफाइललाई पनि छानबिनमा ल्याउनुपर्छ : सांसद खतिवडा



काठमाडौं, ११ जेठ । नेपाली कांग्रेसका नेता एवं सांसद रामहरि खतिवडाले नक्कली भुटानी शरणार्थी प्रकरणमा चर्चामा आएका पूर्वप्रधानमन्त्रीका सल्लाहकार, स्वकीय सचिव, पूर्व गृहमन्त्रीको परिवार, संवैधानिक निकायका प्रमुखलगायतलाई तत्काल छानबिनमा ल्याउन सरकारलाई घचघच्याएका छन् ।
‘हिजो सञ्चारमाध्यममा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकार एवं स्वकीय सचिव, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलको परिवार, संवैधानिक निकायका प्रमुख, नेता नजिकका केही हाई प्रोफाइलको नाम आएको छ । ती सत्य तथ्य हुन् कि होइनन्, त्यसमा जनतालाई आश्वस्त पारेर सार्वजनिक गर्ने हिम्मत सरकारले गर्नुपर्छ । यसलाई अझ बृहत् रुपमा छानबिनमा ल्याउनुपर्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।
सांसद खतिवडाले प्रहरीको छानबिनका आधारमा अदालतबाट न्याय निरुपण हुने विश्वासमा जनता रहेको पनि बताए । उनले थपे, ‘तेरो मेरो नभनीकन यति ठूलो काम गरेको प्रहरीलाई राजनीतिक रुपमा विवादमा ल्याउनु गलत हो । यसले चेन अफ कमान्ड बिग्रन्छ । हामीले त महानिरीक्षकदेखि तलका प्रहरीसम्म धन्यवाद पो दिनुपर्छ ।’
नेपाली कांग्रेसले पूर्व गृहमन्त्री बालकृष्ण खाँडलाई किन कारबाही गरेन भन्ने पत्रकार धमलाको प्रश्नमा खतिवडाले भने, ‘पार्टी कसैलाई फसाउन र बचाउन लाग्दैन । हामी एउटा व्यक्तिका पछाडि होइन, समग्र संगठन र कार्यकर्ताका पछाडि लाग्छौं । पार्टी कमजोर होस् भन्ने भावना कुनै नेता कार्यकर्ताको छैन । हामी अब समयानुकूल र जनता र कार्यकर्ताको भावना अनुकूल चल्छौं ।’ सिंगो पद्धति र नेतृत्वप्रति चरम निराशा छाएकाले कांग्रेस बेलैमा सचेत हुनुपर्ने पनि उनले औंल्याए ।
अर्को प्रसंगमा उनले हरेक सांसदलाई संसदमा आफ्नो कुरा राख्ने अधिकार रहेको बताए । उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीका ढाकाकुमार श्रेष्ठ पार्टी उपाध्यक्ष र महासचिवलाई २ करोड ८४ लाख बुझाएर सांसद भएको विषयमा हाम्रो पार्टीका सांसद अजयकुमार चौरसियाले कुरा राख्नुभएको हो । कुरा उठ्ने बित्तिकै बुरुक्क उफ्रनु आवश्यक छैन । हरेक सांसदलाई आफ्नो कुरा राख्ने अधिकार छ ।’



प्रतिक्रिया दिनुहोस्