Logo

माओवादी नेता सापकोटा भन्छन्ः ‘शरणार्थी प्रकरणपछि क्यान्टोनमेन्ट घोटला छानविन गरौं, हामी तयार छौं’



काठमाडौं, ११ जेठ । नेकपा(माओवादी केन्द्र) का प्रभावशाली नेता एवं प्रतिनिधि सभा सदस्य माधव सापकोटा ‘सुबोध’ ले नक्कली भुटानी शरणार्थी प्रकरण गम्भीर राष्ट्रघात भएको टिप्पणी गरेका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले नक्कली भुटानी शरणार्थी प्रकरण आर्थिक कसुर, अपराध र भ्रष्टाचारकोमात्रै कुरा नभएर गम्भीर राष्ट्रघाती कदम भएकाले निर्ममतापूर्वक छानविन र सजाय हुनपर्ने बताएका हुन् । विश्व समुदायमा नेपालको विग्रिएको छवि सुधार गर्नका लागि यस प्रकरणमा जतिसुकै सिनियर नेता भएपनि निर्ममतापूर्वक कानुनको दायरामा ल्याउन आवश्यक रहेको उनको भनाई छ ।

‘जसले कमजोरी गरेका छन्, उनीहरुलाई छोड्न हुँदैन । निर्ममतापूर्वक जानुपर्छ । वास्तवमा भुटानी शरणार्थी प्रकरणले राष्ट्रलाई नै लज्जास्पदस्थिति बनायो । यो कुनै आर्थिक कसुर, अपराध र भ्रष्टाचारकोमात्रै क्रियाकलाप रहेन । यो गम्भीर राष्ट्रघाती कदमसमेत भयो । विश्व राजनीतिक रङ्गमञ्चमा नेपाललाई एक पटक लज्जाजनक बनाएको छ । त्यसैले यसमा कुनै पनि उद्दार नभइकन, यो लज्जाजनक हो, नकारात्मक परिघटना हो ।’ उनले भने, ‘हाम्रो छवि सुधार गर्नका लागि कठोरभन्दा कठोर हुने र जस्तासुकै सिनियर नेता रहेछन् भने पनि कानुनको दायरामा ल्याउन पर्छ ।’

नक्कली भुटानी शरणार्थी प्रकरणमा कोही निर्दोष नपरुन् र कोही पनि दोषीले उन्मुक्ति नपाउन् भन्ने कुरामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सचेत रहेको उनको भनाई छ । यस प्रकरणलाई राज्यले विश्व समुदायमा विग्रिएको छवि सुधार्ने नकारामक अवसरको रुपमा लिनुपर्ने उनको भनाई छ ।

‘प्रचण्ड भनिराख्नु भएको छ, संसद्मा भन्नु भएको छ, सार्वजनिक रुपमा भन्नु भएको छ , मिडियाहरुबाट भनिराख्नु भएको छ कि– यसमा निर्दोष नपरुन्, दोषी छन् भने यसबाट उद्दार हुने ठाउँ छैन । निर्ममतापूर्वक हामीले कारबाही गर्नुपर्छ । कठोरपूर्वक हामीले कारबाही गर्यो भने नेपालको विग्रेको छवि संल्याउने नकरात्मक हिसाबले अवसर पनि हो,’– सांसद सापकोटाले भने ।

देशमा भएका सबै भ्रष्टाचारको छानविन हुनुपर्छ भन्ने माओवादी केन्द्रको धारणा रहेको उनले बताए । नक्कली भुटानी शरणार्थी प्रकरणपछि माओवादी लडाकु शिविर घोटला प्रकरण छानविनका लागि आफूहरुले भनिरहेको उनले बताए । त्यसका लागि माओवादी सदैव तयार रहेको उनको भनाई छ ।

‘हामीले त भन्दै आएका छौं । सम्माननीय प्रधानमन्त्रीज्यूले पनि भन्नुभयो,– यो पछाडि छानविन गर्ने भए लडाकु शिविरको जे भनिराख्नु भएको छ उहाँहरुले, क्यान्टोनमेन्टको कुरा, गरौं भनेका छौं,’– उनले भने ।

भुटानी शरणार्थी प्रकरण उत्कर्षमा पुग्न लागेको बेलामा अरु कुरा अगाडि सार्नु यसलाई विषयान्तर गर्नु भएको उनको भनाई छ । नक्कली भुटानी शरणार्थी प्रकरणलाई विषयान्तर गर्ने कामले भ्रष्टाचारीहरु र गल्ती गर्नेहरुलाई मद्दत पुग्ने उनको बुझाई छ । नक्कली शरणार्थी प्रकरणलाई टुङ्गोमा पुर्याएपछि आफूहरु लडाकु शिविर घोटला प्रकरण छानविनका लागि तयार रहेको उनले बताए । उक्त प्रकरणमा दोषी पाइए जेल जान पनि तयार रहेको उनको भनाई छ ।

‘यसलाई (शरणार्थी प्रकरण) निष्कर्षमा पुर्याउन पर्छ । हामी लडाकु शिविर घोटला छानविन गर्नका लागि तयार छौं । प्रधानमन्त्रीज्यूले घोषणा गरिसक्नुभयो, छानविन गरौं, दोषी ठहरिएँ भने जेल जान तयार छु भन्नु भएको छ,’– उनले भने ।

लडाकु शिविर व्यवस्थापन उपसचिव नेतृत्वको व्यवस्थापन समितिबाट भएको र सबै काम प्रक्रियागत ढंगबाट नै भएको उनको दाबी छ । लडाकु शिविरमा एक बोरा चामल किन्न पनि शिविर व्यवस्थान समितिले फारम भएर आफ्नो प्रक्रिया पूरा गरेरमात्रै काम गरेको र लडाकुहरुलाई आएको पैसा सम्बन्धित कर्माचारीले सम्बन्धित लडाकुलाई नै प्रक्रिया पूरा गरेर दिएको उनको दाबी छ । लडाकु शिविरको हिसाबकिताब महालेखाले अडिटमार्फत टुंग्याइसकेको विषय भएको उनले बताए । कसैलाई कुनै शंका रहेको अवस्थामा आफूहरु अझै छानविनका लागि तयार रहेको उनको भनाई छ ।

‘महालेखाले त्यतिबेला शिविरको हिसाब किताबको अडिट गरिसकेको छ । अझै छानविन गर्नेभए गरौं कसैलाई चित्त बुझ्दैन भने । मलाई के लाग्छ भने अहिलेको नक्कली भुटानी शरणार्थी प्रकरणलाई छाँयामा पार्न, कमजोर बनाउन र विषयान्तर गर्नका लागि कही न कही प्रधानमन्त्रीलाई मनोवैज्ञानिक दवाब दिनका लागि गरिएको हो । प्रधानमन्त्री दवाबमा हुनुहुन्न भन्ने कुरा संसद्मा उहाँले भनिसक्नु भयो, छानविन गरौं, दोषी भए जेल जान्छु भन्नु भएको छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्