Logo

सेवा विस्तार गर्दै महाकाली अस्पताल



महेन्द्रनगर, ११ जेठ । कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालले सेवाको दायरा विस्तार गरेसँगै बिरामीको चाप बढ्दै गएको छ । अस्पतालले पछिल्ला वर्षमा सेवा विस्तार गर्दै विशेषज्ञ चिकित्सकसहितको सेवा प्रदान गर्न थालेपछि उपचारका लागि भारतलगायत अन्यत्र जानुपर्ने बाध्यता हट्दै गएको छ ।

पाँच वर्षअघि मात्रै यहाँ दैनिक एक सयको हाराहारीमा बिरामी स्वास्थ्य सेवा लिन आउने गरेकामा अहिले दैनिक पाँच सयदेखि छ सय बिरामी आउने गरेको महाकाली प्रादेशिक अस्पतालले जनाएको छ । अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले अस्पतालले समयानुसार सेवा विस्तार गर्दै लगेकाले उपचारका लागि आउनेको सङ्ख्या पनि बढ्दै गएको जानकारी दिए ।

“केही समय कोभिडका कारण सेवा सञ्चालन गर्न सकिएको थिएन् । विस्तारित सेवा बुधबारदेखि सञ्चालनमा ल्याएका छौँ”, उनले भने, “विशेषज्ञ सेवा अस्पतालले दिँदा यहाँ आउने बिरामीको सङ्ख्या पनि बढ्दै गएको छ ।”

अस्तापलमा अहिले हाडजोर्नी, बालरोग, स्त्रीरोग, नाक कान घाँटी, एमडिजिपी, रेडियोलोष्टि र सर्जन गरी १४ विशेषज्ञ चिकित्सक कार्यरत छन् । अध्यक्ष भट्टका अनुसार अस्पतालमा हाल ११ एमबिबिएस चिकित्सक, तीन दन्त रोग विषेशज्ञ छन् ।

विसं २०४० को दरबन्दी हालसम्म कायम रहेको बताउँदै उनले दरवन्दी बढाउनुपर्ने बताए । “पहिलेको दरबन्दी एक सय जनाको थियो । यहाँ दरबन्दी, अस्पताल व्यवस्थापन समिति, विभिन्न कार्यक्रममा गरी दुई सय भन्दा बढी चिकित्सकसहित स्वास्थ्यकर्मी कार्यरत छन्”, उनले भने ।

अध्यक्ष भट्टले एक सय शय्याको महाकाली अस्पताललाई दुई सय शय्याको बनाउने तयारी भइरहेको जानकारी दिए । अस्पतालमा भौतिक संरचनाको अभाव रहेको बताउँदै इमरजेन्सी भवन बनेपछि सेवा प्रवाहमा सहज हुने उनको भनाइ थियो । “ओपिडी ब्लक र इन्टोरका लागि अझै भवनको अभाव छ । भौतिक संरचना निर्माणमासमेत हामीले पहल गरिरहेका छौँ”, उनले भने । रासस



प्रतिक्रिया दिनुहोस्