Logo

प्रेम आलेको माधव नेपाललक्षित अभिव्यक्ति: ‘जगल्टे डनहरुलाई हटाउन लागेको थिएँ, दूरदर्शी नेताले दिएनन्’



काठमाडौं, ११ जेठ । नेकपा (एकीकृत समाजवादी) का नेता एवं प्रतिनिधि सभा सदस्य प्रेम आलेले पशुपति विकास कोषको ३० रोपनी जग्गा अधीकरण हुन लागेको भन्दै संसद्को ध्यानाकार्षण गराएका छन् ।

हिजो (बुधबार) बसेको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै आलेले पशुपति क्षेत्र विकास कोषको कूल पाँच सय ३४ रोपनी जग्गामध्ये पाँच सय चार रोपनी हालसविक गर्न त्यहाँका सदस्य सचिवले भन्दा नमानेको बताए । अहिले त्यहाँका सदस्य सचिवले भने अनुसार बहालवाला मन्त्री सुदन किराँतीले पशुपति विकास कोषको जग्गा सुकुम्बासीका नाममा बाँड्ने तयारी गरेको उनको आरोप छ ।

आफूले मन्त्री रहेकै बेलामा उक्त जग्गा कब्जा गरेको ठाउँमा डोजर चलाउन खोजेपनि पार्टी अध्यक्ष माधव नेपालले रोकेको उनको आरोप छ । चुनावको मुखमा त्यसो नगर्न भनेपनि काठमाडौं ३२ बाट पार्टीले वडा सदस्यसमेत नजितेको उनको भनाई छ ।

‘गोठाटारमा बसेका ती जगल्टे डनहरुलाई हटाउनका लागि मैले डोजरको व्यवस्था गरेको थिएँ । मेरै पार्टीका केही दूरदर्शी नेताहरुले भैगो अहिले चुनाव छ, नगर भने । के चुनाव हुनु ? नेताले भनेपछि मान्नुपर्यो, एउटा वडा सदस्य पनि जितेनन् । लास्टमा म हटिहाले,’– उनले भने ।

अहिलेका मन्त्री सुदन किराँतीले सुकुम्बासीको नाममा पशुपति विकास कोषको ३० रोपनी जग्गा बाड्न लागेको उनको आरोप छ । पशुपति विकास कोषको जग्गा तलमाथि भएको खण्डमा आफूहरुले नछाड्ने पनि उनले चेतावनी दिए ।

‘अहिलेको मन्त्रीले कता–कता मैले सुनिराखेको छु, भैगो विचरा ती सुकुम्बासीहरु ३० रोपनी खाए खान्छन्, म त दिन्छु पुर्जा भनेर पूरै हैकमवाजी जमाइराखेको छ । सम्माननीय प्रधानमन्त्रीज्यू पनि पशुपति क्षेत्र विकास कोषको संरक्षक हुनुहुन्छ । पशुपति क्षेत्र विकास कोषको जग्गा अलिकति पनि तलमाथि भयो भने हामी छोड्नेवाला छैनौं,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्