Logo

सरकारलाई २ खर्ब ७० अर्ब बजेट अपुग



काठमाडौं, जेठ १२ । आर्थिक वर्ष २०८०/८१ का निम्ति सरकारले चार दिनपछि अनुमानित आयव्ययसहितको बजेट ल्याउँदैछ । जेठ १५ गते सरकारले बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधानअनुरूप यतिबेला धमाधम बजेट लेखन भइरहेको छ । जसका निम्ति बिहीबारदेखि जेठ १६ गतेसम्मका लागि मन्त्रालयगत बजेट सूचना प्रणाली (एलएमबीआईएस) बन्द भएको छ ।

सरकारले आगामी आर्थिक वर्षका निम्ति राष्ट्रिय योजना आयोगले १६ खर्ब ८८ अर्ब रुपैयाँको बजेट सिलिङ तोकेको छ । सिलिङकै वरिपरि बजेट आउने अर्थ मन्त्रालय स्रोतले जनाएको छ। यसपटक विगतमा जस्तो बजेटको अंक बढाउन सक्ने अवस्था छैन । स्रोत संकुचित हुँदै गएकाले सिलिङभित्रै बजेट निर्माण गर्नुपर्ने बाध्यता सरकारलाई रहेको स्रोतको भनाइ छ ।

सरकारले चालू आर्थिक वर्षमा योजना आयोगले दिएको सिलिङभन्दा ४३ अर्ब रुपैयाँ वृद्धि गर्दै १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । तर, चालू आर्थिक वर्षको न्यून पुँजीगत खर्च र राजस्व संकलनमा भएको संकुचनका कारण साढे १५ खर्ब रुपैयाँमात्रै बजेट खर्च हुने अर्थ मन्त्रालयको अनुमान छ ।

चालू आर्थिक वर्षका निम्ति बजेट खर्चको संशोधित अनुमानको लक्ष्यका निम्ति नै स्रोतको सुनिश्चितता नभएको भन्दै ९ प्रतिशत अर्थात १ खर्ब ३९ अर्ब बढीको सिलिङ आयोगले दिएको छ । विगतको परम्पराअनुसार आयोगले दिएको सिलिङभन्दा अर्थ मन्त्रालयले प्रस्तुत गर्ने बजेटको आकार केही ठूलो हुने गरेकाले यसपटक पनि बजेटको आकार सिलिङभन्दा बढी हुनसक्ने अनुमान छ । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्