Logo

रेशम चौधरीलाई माफी दिनै हुन्न, पाउनै हुन्न भन्नु संविधानविरोधी कुरा हो : पूर्व महान्यायाधिवक्ता



काठमाडौं, १२ जेठ । पूर्व महान्यायाधिवक्ता एवं नेकपा (माओवादी केन्द्र) का नेता मुक्तिनारायण प्रधानले पूर्वसांसद रेशम चौधरीलाई राज्यले अपराधीको व्यवहार गर्न नमिल्ने बताएका छन् ।
‘रेशम चौधरी युगौंदेखि राज्यद्वारा दमन, उत्पीडन, उपेक्षा र भेदभावमा परेको थारु समुदायको नेता हो । उहाँ पोलिटिसिएन हो । उहाँले सर्वोच्चको फैसला मान्दिन भन्न त मिल्दैन । तर उहाँलाई राज्यले अपराधीको व्यवहार गर्न मिल्दैन । हिजो बीपी कोइराला पनि अराष्ट्रिय तत्त्व र देशद्रोहको मुद्दामा जेल बसेकै हुन् । नारायणमान बिजुक्छेलाई पनि  कर्ण हेजुको हत्या अभियोगमा मृत्युदण्डको माग गरिएको थियो । खड्गप्रसाद ओली पनि हत्या अभियोगमा धेरै वर्ष जेल बसेका हुन् । के उहाँहरुलाई आज अपराधी भन्ने त ?’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।
कानुनविद् प्रधानले रेशम चौधरीको हकमा सरकारले संविधानबमोजिम माफी मिनाहा दिन सक्ने औंल्याए । उनले थपे, ‘सर्वोच्च अदालतले अन्तिम फैसला गरे पनि राज्यले रेशम चौधरीलाई माफी, मिनाहा दिन सक्छ । किनभने यो राजनीतिक डिलिङ र पोलिटिकल ट्रिट हो । उहाँलाई आममाफी दिनै हुन्न, पाउनै हुन्न भन्नु त संविधानविरोधी कुरा हो । यसमा रेशम चौधरीको कुरा मात्र छैन, सीके राउत, विप्लवजीका कुरा पनि छन् ।’



प्रतिक्रिया दिनुहोस्