Logo

मोदीसँग आँखामा आँखा जुधाएर कुरा गर्न प्रधानमन्त्री प्रचण्डलाई महासेठको सुझाव (भिडिओसहित)



काठमाडौं, १२ जेठ । नेकपा (एमाले) का सचिव एवं पूर्वपरराष्ट्रमन्त्री रघुवीर महासेठले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण औपचारिक हो कि होइन, भ्रमणका एजेन्डा के के हुन् भन्ने बारेमा सरकारले स्पष्ट पार्नुपर्ने बताएका छन् ।

‘प्रचण्डले प्रधानमन्त्रीको शपथग्रहण गर्ने बित्तिकै भारत भ्रमणमा जाने बताउनुभयो । जब कि आजभन्दा सात दिन अघिसम्म पनि उहाँलाई भारत भ्रमणको निम्तो थिएन । उहाँले निमन्त्रणा नै नआईकन किन भारत भ्रमणको कुरा गर्नुभयो ? यो भ्रमण औपचारिक हो कि अनौपचारिक हो ? यसका एजेन्डा केके हुन् ? सरकारले अझै पनि स्पष्ट पारेको छैन,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।

मागी-मागी भारत जानुभन्दा त भारतले प्रचण्डलाई आफैं बोलाएको भए राम्रो हुने पनि महासेठले औंल्याए । उनले भने, ‘जो कोही प्रधानमन्त्रीले किन भारतबाटै पहिलो विदेश भ्रमण सुरु गर्ने ? के भारतको प्रधानमन्त्रीले नेपालको पहिलो भ्रमण गर्नुभएको छ र ? मलाई लाग्छ, प्रचण्डको यो राजकीय भ्रमण होइन, चियाकफी खाने भ्रमण हो ।’

नेता महासेठले प्रधानमन्त्री प्रचण्डलाई विभिन्न सुझाव पनि दिए । उनले भने, ‘मैले परराष्ट्रमन्त्रीले बोलाएको बैठकमा धेरै सुझाव दिएको छु । राष्ट्रियताको पक्षमा बोल्नुस् । कालापानी, लिम्पियाधुरा, लिपुलेकको कुरा उठाउनुस् । २२ जिल्लाको सीमा समस्या उठाउनुस्, आँखामा आँखा जुधाएर कुरा गर्नुस् । नेपाल र नेपालीको हितमा यो भ्रमण सफल होस् । मेरो अग्रिम शुभकामना छ ।’



प्रतिक्रिया दिनुहोस्