Logo

सामसङ इनोभेसन क्याम्पसको पहिलो ब्याचको कोडिङ र प्रोग्रामिङ कोर्स सम्पन्न



काठमाडौं, १२ जेठ । सामसङको फ्ल्यागशिप सिएसआर प्रोग्राम सामसङ इनोभेसन क्याम्पसले त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ अन्तर्गतको पुल्चोक क्याम्पसको पहिलो व्याचका विद्यार्थीहरूको कोडिड र प्रोग्रामिङको कोर्स समाप्त भएको छ।

प्रोग्राम अन्तर्गत अर्को ब्याचका विद्यार्थीहरूले विश्वविद्यालयमा आर्टिफिसियल इन्टेलिजेन्स कोर्स सुरू गर्नेछन्। विद्यार्थीहरूलाई कोर्स पूरा गरेको प्रमाणपत्र प्रदान गरिएको समारोहमा शिक्षा राज्यमन्त्री प्रमिला कुमारी, सामसङको दक्षिण-पश्चिम एसिया नेपाल कार्यालयका प्रमुख सुग जुन पार्क र त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङका प्राध्यापक तथा डिन डा. शशिधर राम जोशीको उपस्थिति थियो।

‘विद्यार्थीहरूको उत्सुक सहभागिता र विश्वविद्यालयबाट ठुलो सहयोगको साथ हाम्रो कोडिङ र प्रोग्रामिङ कोर्सको पहिला ब्याच पूरा गर्न पाउँदा हामी निकै उत्साहित छौं,’ सामसङ दक्षिण-पश्चिम एसियाका नेपाल कार्यालयका प्रमुख सुङ जुन पार्कले भनेका छन्, ‘हामी त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ इन्स्टिच्युटसँग भविष्यका प्राविधिक आर्टिफिसियल इन्टेलिजेन्स, इन्टरनेट अफ थिंग्स र बिग डेटा डोमेनहरूमा विद्यार्थीहरूलाई उन्नत बनाउनको लागि दीर्घकालीन साझेदारीको अपेक्षा गर्दछौं। हाम्रो उद्देश्य सधैं सक्षम नेपाली युवाहरूलाई भविष्यको लागि अनुकूल बनाउनु हो।’

सामसङले सन् २०२२ को डिसेम्बरमा त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ पुल्चोक क्याम्पसमा आफ्नो ग्लोबल सिएसआर कार्यक्रम सामसङ इनोभेसन क्याम्पसको उद्घाटन गरेको थियो।

उक्त कार्यक्रमअन्तर्गत सामसङले नेपालका युवाहरूलाई आर्टिफिसियल इन्टेलिजेन्स, इन्टरनेट अफ थिड्स, बिग डेटा, कोडिङ र प्रोग्रामिङ जस्ता प्राविधिक सीपहरूमा तालिम दिने योजना बनाएको थियो, जसले नेपालमा बलियो प्रविधि र नवप्रवर्तन इकोसिस्टमको विकासमा योगदान पुर्‍याउनेछ। कोर्सहरूका लागि छनोट हुनको लागि एल्गोरिदम, डेटा स्ट्रक्चर र प्रोग्रामिङको ज्ञान हुनु पूर्वसर्तहरू छन्।

कोर्सको एक भागको रूपमा युवाहरूलाई वास्तविक रोजगारीको सीपहरू र माग अनुसारको प्राविधिक सीपहरू प्रदान गरिन्छ, जसले विद्यार्थीहरूको डिजिटल साक्षरता, सिक्ने क्षमता, रचनात्मकता र रोजगारीमा सुधार ल्याउने विश्वास कम्पनीको छ।

प्राविधिक प्रशिक्षणका साथै यस कोर्सले विद्यार्थीहरूको रोजगारी र उनीहरूको ज्ञानलाई प्रयोगमा ल्याउने क्षमता बढाउनको लागि उनीहरूलाई सफ्ट स्किल तालिम पनि प्रदान गरिएको छ।



प्रतिक्रिया दिनुहोस्