काठमाडौं,१२ जेठ । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिनाथमा सुनको जलहरीको ठाउँमा पित्तलको जलहरी लगाएर भ्रष्टचार भएको घटनामा संसदीय छानविन समिति बनाउनुपर्ने बताएका छन् । दाहालले गत बुधबारको संसद बैठकमा पशुपतिनाथमा सुनको जलहरी लगाउने काममा भ्रष्टचार भएको अभिव्यक्ति दिएका थिए ।
उनले दिएको अभिव्यक्तिलाई लिएर एमालेले आजको संसद बैठक अवरोध गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै दाहालले आफुले कुनै व्यक्तिलाई भ्रष्टचारी करार गर्न नखोजेको प्रष्टीकरण दिए ।
दाहालले भने, ‘मैले संसदीय मर्यादा उल्लघंन गरेको छैन। संसद्ले बोल्न पाउने अधिकारको प्रयोग गरेको हुँ। केपी शर्मा ओलीले बोल्ने क्रममा यो सरकार भ्रष्टाचारीको गठबन्धन हो भन्नुभयो। मैले तपाईँ तीन वर्षअघि फर्किनुस् भने। त्यहाँ भएका भ्रष्टाचार काण्डमध्ये पशुपतिनाथमा जलहरी लगाउँदा सुन भनेर पित्तल लगाएको काण्ड पनि एक हो। ११ किलो कम सुन प्रयोग भएको पनि महालेखा परीक्षक प्रतिवेदनमा उल्लेख छ। तथ्यको आधारमा बोलेको हुँ,’ दाहालले भने, ‘संसदीय छानविन समितिको गठन गरौं। त्यो सुन कसले खायो ? व्यक्तिगत हिसाबले मैले केपी ओलीको नाम लिएको थिएन।’




प्रतिक्रिया