Logo

प्रधानमन्त्रीको भारत भ्रमणमा सिमा विवादको विषय अहिले मुख्य विषय बन्दैन् : हरिबोल गजुरेल (भिडिओसहित)



काठमाडौं, १३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त हुनेबत्तिकै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फोन गरेर बधाई दिएको र भ्रमणको निमन्त्रणा गरेको स्मरण गराएका छन् । विभिन्न कारणले गर्दा प्रधानमन्त्री दाहालको भारत भ्रमण ढिलो भएको उल्लेख गर्दै अहिले भने भ्रमणको मिति तय भएकोले अब सकारात्मक सुरुवात भएको उनको भनाई छ ।

उनले यो भ्रमणले नेपाल–भारतबीचको सम्बन्धमा नयाँ आयाम ल्याउने प्रधानमन्त्री दाहालको विश्वास रहेको सुनाए । उनले भारत भ्रमणको क्रममा एयर रुटको कुरा उठाउने, विद्युतको लागि सहजीकरण, पञ्चेश्वर परियोजनाको विषय अघि बढाउने सुनाए । उनले सिमा विवादको विषय अहिले निश्कर्षमा नपुग्ने बताउँदै त्यो अलिक जटिल विषय रहेको बताए । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले सिमा विषय अलिक जटिल विषय भएको उल्लेख गरे ।

उनले भने,‘सिमा विवादको विषय अहिले निश्कर्षमा पुग्दैन् । त्यो अलिक जटिल विषय नै छ । त्यसमा हाम्रा धेरै ठूला मतभेदहरु पनि छन् । त्यसलाई एउटा सकारात्मक ढंगले सुल्झाउनुपर्छ । अरु समस्याहरु हल गरिसकेपछि सिमा समस्या पनि हामीले उचित समयमा, ठीक समयमा हल गर्नुपर्छ भन्ने दिशामा चाहीँ जान्छ ।’

पत्रकार धमलाले नेपालको लिम्पियाधुरा, कालापानी र लिपुलेकको विषयमा पनि भारतीय समकक्षीसँग कुरा हुन्छ भनेर राखेको प्रश्नमा गजुरेलले त्यस विषयमा कुरा हुने भएपनि अहिले त्यो विषय मुख्य विषय नबन्ने टिप्पणी गरे । उनले भने,‘हामी त्यसमा सहमतिनजिक पुगेकै छैनौं । अरु वातावरण बनेर, अलिक सम्बन्ध सहज बनेपछि स्थायी समाधानको लागि उपाय के हुन सक्दछ भनेर खोजिन्छ ।’



प्रतिक्रिया दिनुहोस्