Logo

उत्ताउलो बजेट आउँदैनः कांग्रेस प्रचार विभाग प्रमुख विश्वकर्मा



काठमाडौं, १४ जेठ । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मिन विश्वकर्माले आगामी बजेटले जनताको चाहना र भावना संम्बोधन गर्नसक्ने बताएका छन् ।
हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले संसारका ठूला–ठूला मुलुकसमेत आर्थिक मन्दीले ओरालो लागिरहेको बेला उक्त परिस्थितिबाट जनतालाई बचाउने गरी बजेट ल्याउन लागिएको उनले बताएका हुन् ।

‘संसारका धेरै शक्तिशाली मुलुक पनि आर्थिक मन्दीतर्फ ओरालो लागिराखेको बेला हाम्रो सरकार कसरी आर्थिक मन्दीबाट बच्ने भन्नेमा छ । त्यसो भएको हुनाले उत्ताउलो, आकास्मिक र एकदम हौसिएर बजेट ल्याउनु भन्दा संसय मभएर सानो आकारको बजेट ल्याएर जनताका आकांक्षाहरुलाई व्यवहारिक ढंगको बजेटबाट सम्बोधन गर्नुपर्ने हो ।’ उनले भने, ‘क्षमता अनुसारको बजेटमा जनताले चित्त बुझाउनु हुन्छ र चित्ता बुझाउने प्रकृतिको बजेट छ भन्ने मलाई लाग्छ ।’
विगतका बजेटले जनताका आकांक्षाहरुलाई सम्बोधन गर्न नसकेको उनको भनाई छ । उनले विगतका बजेट घस्रिने गरेको र जनताको आकांक्षा उफ्रिने गरेको उनको टिप्पणी छ । अहिलेको बजेट आकांक्षा र व्यवहारको बीचमा मेल खानेगरी आउने उनको दाबी छ ।

‘बजेट सधैभरी जनताको आकांक्षा पुरा गर्ने गरी आएन होइन, हाम्रा आकांक्षाहरु पनि बढ्दै जान्छन्, हाम्रो बजेट चाहिँ पाइला चाल्छ, घस्रिन्छ, हाम्रा आकांक्षाहरु चाहिँ उफ्रिन्छन् । हाम्रा उफ्रिएका आकांक्षाहरुलाई घस्रिएको बजेटले नभेटेकोमात्रै हो तर, हामी भेटाउने प्रयन्त गरिराखेका छौं । यसपालि हामी आकांक्षा र व्यवहारकाबीचमा भेटाउने गरि बजेट आउँछ,’– उनले भने ।

साथै, फरक प्रसंगमा उनले अघिल्लो दिन संसद्मा बोलेको कुरालाई लिएर नेकपा (एमाले) ले संसद् अवरोध गर्नु केटाकेटीपना भएको टिप्पणी गरे । नेताहरुमा जनताका प्रतिनिधिहरुले बोलेका कुरा सुन्नसक्ने धैर्यता हुन आवश्यक रहेको उनको भनाई छ । यस प्रकरणमा एमाले अध्यक्ष केपी शर्मा ओली रोएजस्तो गरेको र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फकाएजस्तो गरेको उनको टिप्पणी छ ।

‘नेकपा (एमाले) जस्तो लोकतान्त्रिक अभ्यासबाट आएको पुरानो पार्टीका नेताले अघिल्लो दिनको कुरा सम्झिएर भोलिपल्ट संसद अवरोध गर्नु मलाई त्यसमा चाहिँ केटाकेटी खेलजस्तो लाग्यो । उहाँ (ओली) रोएजस्तो गर्नुभयो, प्रधानमन्त्री प्रचण्डले फकाएजस्तो गर्नुभयो,’– उनले भने ।

संसद्मा एमालेको परिपक्ता अझै नदेखिएको उनको भनाई छ । संसद्मा सबैभन्दा बढि गाली, व्याङ्ग्यवाण हान्ने नेता एमाले अध्यक्ष ओली नै भएको उनले बताए । अरुलाई सबैभन्दा बढि गाली र व्यङ्ग्य वाण हान्ने नेताले नै अरुको आलोचना र व्यङ्ग्यलाई स्विकार्न नसकेको उनले बताए । अहिले संसद् सहज रुपमा सञ्चालन हुन आवश्यक रहेकाले प्रधानमन्त्री प्रचण्डले त्यसलाई सहज रुपमा लिएर ओलीको माग सम्बोधन गरेको उनको भनाई छ ।

‘यो संसद्मा कडा भन्दा कडा बोल्ने नेता को होला ? धेरै नै आरोप–प्रत्यारोप लगाउन सक्ने नेता त केपी शर्मा ओली नै हो । उहाँले संसद्मा बोल्दा कतिलाई व्यङ्ग्यवाण हान्नु भयो, कतिलाई गाली गर्नुभयो । कतिलाई तर, संसद्ले मजाले हाँसीहाँसी सुनिरहन्थ्यो ।’ उनले भने, ‘एक जना माननीय सदस्यले भ्रष्टाचारको कुरा गर्दा, अघिल्लो दिन बोलेको विषयलाई लिएर अदालतमा मुद्दा त लाग्दैन भने संसद्मा झगडा गर्नु परिपक्वता देखिएन । विषय उठाउनेको पनि परिपक्ता देखिएन, प्रधानमन्त्रीले यसलाई सहज सम्बोृधन गर्नुभयो ।’



प्रतिक्रिया दिनुहोस्