Logo

अहिलेको बुर्जुवा गणतन्त्रलाई जनताको गणतन्त्रमा बदल्नुपर्छ : माओवादी महासचिव



काठमाडौं, १५ जेठ । नेकपा (माओवादी केन्द्र) का महासचिव एवं पूर्वमन्त्री देवप्रसाद गुरुङले अहिलेको गणतन्त्र बुर्जुवा मात्र भएको बताएका छन् ।
‘अहिलेको गणतन्त्र बुर्जुवा गणतन्त्रका रुपमा विकसित छ । अब जनताको गणतन्त्र र समाजवादको गणतन्त्र बनाउनुपर्ने दिशमा उन्मुख हुनुपर्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।
पश्चगामी विचार बोक्ने एकथरी मानिस व्यवस्थालाई कमजोर बनाउने खेलमा लागिरहेको आरोप पनि गुरुङले लगाए । उनले भने, ‘गणतन्त्रमाथि केही चुनौती छन् । पश्चगामी विचार उचालेर अस्थिरता र अराजकता सिर्जना गरेर मुलुकको अस्मितालाई कमजोर बनाउने खेल पर्दा पछाडिबाट चलिरहेका छन् । त्यसैले सम्पूर्ण दलहरु एक भएर राजनीतिक स्थायित्व, राष्ट्रिय सहमति र सहकार्यको प्रक्रियाबाट अघि बढ्नु आवश्यक छ ।’
दलहरुबीच एक अर्कालाई निषेध र विस्थापित गर्ने खेलले राष्ट्रिय अर्थतन्त्र निर्माणमा अवरोध पैदा हुने उनको तर्क छ । गुरुङले थपे, ‘आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माणको कार्यभार पूरा गर्न बाँकी छ । त्यसका लागि राष्ट्रिय औद्योगिक पुँजी विकास गरेर आर्थिक उत्पादन वृद्धि, रोजगारी विस्तारमा केन्द्रित हुने बेला आएको छ ।’ साथै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण सफल हुने दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्