Logo

नेतृत्वकै अकर्मण्यताका कारण गणतन्त्रमाथि चुनौती खडा भयो : खनाल



काठमाडौं, १५ जेठ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले जनताको अवस्था परिवर्तनमा नेतृत्वले ध्यान दिन नसक्दा गणतन्त्रमाथि चुनौती खडा भएको बताएका छन् ।
‘हामीले दुई तिहाइ बहुमतको पनि सरकार टिकाउन सकेनौं । अनावश्यक तामझाम देखाउन खोज्दा मुलुक अस्थिरताको दुष्चक्रमा फसेको छ । मुलुकको राजनीतिक, आर्थिक, साामाजिक, सांस्कृतिक मात्र नभएर राष्ट्रियतामाथि नै संकट छ । गणतन्त्रमा खतरा प्रतिगामी र पुनरुत्थानवादीबाट होइन, नेतृत्वकै आफ्नै अकर्मण्यताका कारण आएको हो । जनताको अवस्थामा परिवर्तनमा ध्यान नदिँदा चुनौती खडा भएका छन्,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।
गणतन्त्रलाई सफल बनाउन समाजवादी बाटोमा लाग्नुपर्ने पनि खनालले औंल्याए । वैज्ञानिक भूमिसुधार र कृषिक्रान्तिबाट मुलुकमा समृद्धि सम्भव हुने उनको जिकिर छ । उनले भने, ‘विगतमा निजीकरणजस्तो आपराधिक कामको समीक्षा गरेर राष्ट्रिय उद्योगधन्दा चलाउनुपर्छ । भ्रष्टाचारको आहालबाट मुलुकलाई मुक्त गर्नुपर्छ ।’ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आसन्न भारत भ्रमणमा राष्ट्रिय हित तलमाथि नहुने गरी दुई देशको सम्बन्धलाई बलियो बनाउने दीर्घकालीन समझदारी गर्नुपर्ने पनि उनले बताए ।



प्रतिक्रिया दिनुहोस्