Logo

पूर्वराजालाई सुवास नेम्बाङले भने— ज्ञानेन्द्रजी,दल खोलेर राजनीतिमा आउनुस्, मेरो शुभकामना !



काठमाडौं, १५ जेठ । संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले विगतका कमीकमजोरी सच्चाएर अघि बढ्नुमा नै पन्ध्रौं गणतन्त्र दिवस मनाउनुको सार्थकता रहेको बताएका छन् ।
‘७० वर्ष लामो जनचाहना बमोजिम संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र, धर्मनिरेपक्षता र समाजवादोन्मुख संविधान बनाएर हामीले गणतन्त्रलाई संस्थागत गर् यौं । पहिलो पटक जनताको संविधान बनायौं । नेपाली जनतालाई सार्वभौमसत्तासम्पन्न बनायौं । जनता अधिकारसम्पन्न भएका छन् । अब कुनै पनि परिवर्तनका लागि आन्दोलन गर्न नपर्ने अवस्था छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।
नेम्बाङले मुलुकको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणमा धेरै काम हुन बाँकी रहेको पनि औंल्याए । उनले भने, ‘संघीय गणतान्त्रिक व्यवस्थाका लागि हामीले धेरै राम्रो संविधान बनायौं । अब त्यसको कार्यान्वयनका सन्दर्भमा बुद्धि, विवेक र क्षमता देखाउनुपर्छ । जनताले नेतृत्वप्रति धेरै प्रश्न उठाएका छन् । आउने दिनमा तमाम कमीकमजोरीलाई सच्चाएर अघि बढ्नुमा नै गणतन्त्र दिवस मनाउनुको सार्थकता छ ।’
सरकारले जनताले अपेक्षा गरेअनुसार काम गर्न नसकेकाले निराशा छाएको पनि उनले स्विकारे । नेम्बाङले थपे, ‘मुलुकमा सरकार छ कि छैन, बन्यो कि बनेन भन्ने प्रश्न उठेका छन् । मंसिरमा चुनाव भएर संसद आयो तर सिन्को भाँच्न सकेन । संसद सरकारको बिजिनेसबाट चल्ने हो । सरकारले त्यो दिन सकेन । सर्वोच्च अदालत धेरै समयदेखि नेतृत्वविहीन रह्यो । यस्तो अवस्थामा जनता वाक्कदिक्क हुने नै भए ।’
नेता नेम्बाङले गणतन्त्रलाई चुनौती दिने भन्दा दल खोलेर अघि बढ्न पूर्वराजा ज्ञानेन्द्रलाई सुझाव दिए । उनले भने, ‘ज्ञानेन्द्रजीलाई नागरिकका नताले सम्मान गर्छु । आज उहाँले जे प्रश्न उठाउनुभएको छ, म त्यसलाई सम्मान गर्छु । लोकतन्त्रमा उहाँलाई त्यसो भन्ने अधिकार छ । उहाँले आलोचना गर्न पाउनुहुन्छ । दल खोल्न पनि पाउनुहुन्छ । दल खोलेर प्रतिस्पर्धा आउनुस्, मेरो शुभकामना छ ।’
दलहरु र तिनको नेतृत्वले संविधानलाई टेकेर देश र जनताको पक्षमा काम गर्न पर्याप्त ठाउँ रहेको पनि उनले औंल्याए । नेता नेम्बाङले भने, ‘गणतन्त्र यस्तो व्यवस्था हो, जहाँ व्यक्ति मन नपरे व्यक्ति बदल्न सकिन्छ, दल मन नपरे दल नै दल्न सकिन्छ । त्यसकारण नेतृत्व सच्चिएर जानुपर्छ , जनताको भावना बमोजिम चल्नुपर्छ र संविधानलाई टेकेर देश र जनताको पक्षमा काम गर्नुपर्छ ।’ देश र जनताको आधारभूत कुरामा राष्ट्रिय सहमति हुनुपर्ने पनि नेम्बाङको धारणा छ ।



प्रतिक्रिया दिनुहोस्