Logo

गणतन्त्रको खुसी नागरिकको अनुहारमा छैन : डा. शेखर कोइराला



काठमाडौं, १५ जेठ । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं सांसद डा. शेखर कोइरालाले राजनीतिक दलहरुकै कारण गणतन्त्रमाथि चुनौती थपिएको औंल्याएका छन् ।
‘अहिले कतिपयले गणतन्त्र कमजोर हुनुमा पूर्वराजालाई दोष दिइरहेका छन् । तर गणतन्त्रलाई पूर्वराजाबाट खतरा छैन । छ भने हामीबाटै खतरा छ । हामी कानुनी राज्य नमान्ने, संविधानका कुरा कुरा नमान्ने, सर्वोच्च अदालतको फैसला पनि नमान्ने हो भने गणतन्त्रको के अर्थ भयो र ? शीर्ष नेताहरु बसेर जे मन लाग्यो त्यही गर्ने, शासन हामीले चलाउने अनि दोष राजालाई दिने ?’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।
नेता डा. कोइरालाले गणतन्त्रको खुसी नागरिकको अनुहारमा नदेखिएको पनि बताए । उनले भने, ‘मुलुकमा कानुनी राज्य छैन । सुशासन छैन । भ्रष्टाचार मौलाएर गएको छ । रोजगारीको अवसर छैनन् । नेतृत्वमा लोकतान्त्रिक संस्कार छैन । सुप्रिम कोर्टले गरेको निर्णय सरकारले उल्टाउँदै छ । यसले जनतालाई के असर गर्छ ? दण्डहीनताले प्रश्रय पाउँछ । वास्तवमा भन्ने हो भने गणतन्त्रको खुसी नागरिकको अनुहारमा छैन ।’
पन्ध्रौं गणतन्त्र दिवसका अवसरमा पार्टीको आन्तरिक कुरा भने खोल्न चाहेनन् । डा. कोइरालाले भने, ‘आज गणतन्त्र दिवस हो । म यसबारे पछि कुरा गरौंला । पार्टीको शुद्धीकरणका लागि सातै प्रदेशमा साथीहरु जानुभएको छ । उहाँले नेपाली कांग्रेसलाई कसरी सुधार्न सकिन्छ, त्यसबारे विचारहरु लिएर आउनु होला ।’
अर्को प्रसंगमा उनले नेपाल र भारतबीच विश्वासको वातावरण बनाउनु महत्त्वपूर्ण रहेको बताए । उनले भने, ‘दुई देशको बीचमा अलिअलि विश्वासको संकट छ । त्यो दूरीलाई कम गर्न सक्यो भने सब कुरा ठीक हुन्छ । प्रोजेक्ट ल्याएर मात्र ठीक हुने होइन । ओपन बोर्डरका कारण उत्पन्न समस्या समाधान गर्नुपर्छ ।’

 



प्रतिक्रिया दिनुहोस्