Logo

गणतन्त्र उल्ट्याउने प्रयास कदापी सफल हुनेछैनः प्रधानमन्त्री प्रचण्ड



काठमाडौं, १५ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको बसलदानीपूर्ण संघर्षबाट प्राप्त अधिकारलाई उल्ट्याउने कसरत भइरहेको टिप्पणी गरेका छन् । आज (सोमबार) १६औं गणतन्त्र दिवसको अवसरमा टुँडीखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति वितृष्णा फैलाउने र प्राप्त उपलब्धीलाई उल्ट्याउने काम भइरहेको बताएका हुन् ।

‘संघीय लोकतान्त्रिक गणतन्त्रप्रति नै वितृष्णा जगाउने र बलिदानीपूर्ण संघर्षबाट प्राप्त अधिकारलाई उल्ट्याउने कसरत पनि भइरहेका छन् । संविधान कार्यान्वयन र शासन सञ्चालनमा देखिने कतिपय कमजोरीलाई आधार बनाएर व्यवस्था र प्रणालीप्रति नै भ्रम छर्ने, वितृष्णा छर्ने यी प्रयासहरु कदापी सफल हुने छैनन् ।’ प्रधानमन्त्री प्रचण्डले भने, ‘किनकी लोकतन्त्रको विकल्प अझ सुदृढ लोकतन्त्र र गणतन्त्रको विकल्प उन्नत गणतन्त्र हो ।’

लोकतन्त्रको विकास लोकतन्त्रभित्रैबाट सम्भव छ भन्ने कुरा कतिपय घटनाक्रमले पुष्टि गरिसकेको उनको दाबी छ । संविधानले निर्दिष्ट गरे अनुरुप समाजवादउन्मुख आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्दै सुशासनसहितको राज्य सञ्चालनका पक्षमा दृढतापूर्वक उभिनु जरुरी रहेको उनको भनाई छ ।

सुशासन र सामाजिक न्यायसहितको समृद्धका लागि फेरी राष्ट्रिय एकताको खाँचो रहेको तथ्यलाई गम्भीरतापूर्वक लिन प्रधानमन्त्री प्रचण्डले सबै समक्ष अपील पनि गरेका छन् । प्रधानमन्त्री प्रचण्डले गणतन्त्रले सुन्दर, समृद्ध र समतामूलक नेपाल निर्माणको सपना साकार पार्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने शुभकामनासमेत व्यक्त गरेका छन् । Photo By: Mukunda Kalikote/Reporters Nepal 



प्रतिक्रिया दिनुहोस्