Logo

जलहरी प्रकरणदेखि सबैभन्दा धेरै नीतिगत भ्रष्टाचार ओली नेतृत्वको सरकारका पालामा भयोः माओवादी सांसद दाहाल



काठमाडौं, १५ जेठ । नेकपा (माओवादी) केन्द्रका नेता एवं प्रतिनिधि सभा सदस्य राजन दाहालले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा सबैभन्दा धेरै नीतिगत भ्रष्टाचार भएको आरोप लगाएका छन् । हिजो (आईतबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले ओली नेतृत्वको तीन वर्षीय सरकारको पालामा यती, ओम्नी, वाइट वडी, गोकर्ण रिसोर्ट, हुँदै पशु्पति जलहरी काण्डसमेत आएको बताए ।

प्रतिनिधि सभा बैठकमा सांसद दाहालले पशुपति जलहरी काण्डमा एमाले अध्यक्ष ओलीलाई जोडेपछि एमाले सांसदहरुले संसद् बैठक अवरुद्ध गरेका थिए । सोही सन्दर्भलाई लिएर पत्रकार धमलाले सोधेको प्रश्नमा सांसद दाहालले भने,– ‘नेपाल सरकारको तर्फबाट राष्ट्रपतिज्यूले पेश गर्नुभएको नीति तथा कार्यक्रमको छलफल गर्ने क्रममा माननीय केपी ओलीज्यूले जसरी टिप्पणी गर्नुभयो, विरोधसँगमात्रै जोड्नुभयो, नकारात्क टिप्पणीमात्रै गर्नुभयो । यो सरकार सबै भन्दाबढी काम नगाल्ने, आफ्नो सरकार सबैभन्दा बढि राम्रो भन्ने सन्दर्भमा मैले के जोड्न खोजेको थिएँ भने–यहाँकै सरसकारको पालामा सबैभन्दा धेरै संस्थागत भ्रष्टाचार भए । संस्थागत भ्रष्टाचारभित्र यति, ओम्नी, वाइट बडी, गोकर्ण रिसोर्ट हुँदै पशुपतिको जलहरी जहाँ सुन भनेर केही पित्तल पनि मिसाइयो ।’

ओली नेतृत्वको सरकारले पशुपतिमा सुन भनेर पित्तल मिसाएको कुरा महालेखाको ५९औं वार्षिक प्रतिवेदन र प्रधानमन्त्री मातहतमा रहने सार्वजनिक खरिद अनुगमन कार्यालयको प्रतिवेदनले पुष्टि गरेको उनको दाबी छ । प्रधानमन्त्री मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार पशुपतिमा जलहरी राख्ने क्रममा अनाधिकृत मान्छेबाट सुन खरिद भएको, हिसाबकिताब नराखिएको, सार्वजनिक खरिद पक्रिया नअपनाइएको आरोप रहेको उनको दाबी छ ।

‘उहाँको कार्यकालको समयमा सुन भनेर पित्तल, महालेखाको प्रतिवेदनमा पनि छ । महालेखाको ५९औं प्रतिवेदनको ४२ र ४३ बुँदा पढ्दा थाहा हुन्छ । त्यसपछि प्रधानमन्त्री माताहतकै कार्यालय सार्वजनिक खरिद अनुगमन कार्यालय भन्ने हुन्छ, सार्वजनिक खरिद अनुगमन कार्यालयले पनि त्यहाँ सुन अनाधिकृत मान्छेबाट खरिद गरिएको, कुनै हिसाबकिताब नभएको र सार्वजनिक खरिद प्रक्रियालाई नअपनाईएको, प्रतिस्पर्धामा कम विटवालालाई दिनुपथ्र्यो भने सबैभन्दा हाई विटवालालाई दिएको भनेर प्रधानमन्त्री मातहतकै कार्यालयको पनि प्रतिवेदन छ,’– उनले भने ।

ओलीले सरकारको नीति तथा कार्यक्रममा आलोचना र विरोधमात्रै गरेपछि आफूले ओली सरकारको पालामा भएको भ्रष्टाचार किन छानविन नगरेको भनी प्रश्न उठाएको उनले बताए । पशुपतिमा सुनको जलहरी राख्ने क्रममा १० देखि ११ किलो सुन गायव गरिएको उनको दाबी छ । सोही समितिका मान्छेले प्रश्न उठाएर अदालतमा रिट लाने तयारी गरेपछि हतार–हतार एकाविहानै तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बोलाएर उद्घाटन भएको उनको आरोप छ ।

‘यहाँ(ओली) को सरकारको पालामा भएको भ्रष्टाचारको छानविन किन नगरेको, अहिलेको सरसकारले भ्रष्टाचार नियन्त्रणको प्रक्रिया सुरु गरेको छ । तर, यो सरकारले भ्रष्टाचार नियन्त्रण गर्दैन भनेको कारण मैले यो विषय जोडेको हो । सुनको जलहरी त्यहाँ १०/११ किलो गायव भएको छ । त्यो विषयमा महालेखाको प्रतिवेदन छ । अख्तियारमा मुद्दा परेको छ । तत्कालीन सरकारले दवाब दिएर त्यो मुद्दा तामेलीमा छ । त्यो मुद्दा किन तामेलीमा राखेको ? छानविन प्रक्रिाया अगाडि बढाउन पर्छ भन्ने सन्दर्भमा मैले यो विषय उठाएको हो,’– उनले भने । File Photo/Reporters Nepal 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot