Logo

रेशम चौधरी भन्छन्— राज्यले मुक्ति पाउँछ भने मलाई मृत्युदण्ड दिए भै’गो नि



काठमाडौं, १६ जेठ । पूर्व सांसद रेशमलाल चौधरीले आफ्नो आममाफीको विरोध गरेर भोटको राजनीति गर्न खोजिएको आरोप लगाएका छन् ।
‘सायद भोटका लागि राजनीति गरिएको होला । एउटा समुदायलाई नै लान्छित गर्न खोज्दाको परिणाम निर्वाचनमा थाहा पाउनु होला । साढे ५ वर्षको जेल र तीन वर्षको प्रवास बसाइमा मैले कसलाई चिनिनँ र ?’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।
चौधरीले गणतन्त्र दिवसका अवसरमा राष्ट्रपतिबाट आममाफी पाएपछि सामाजिक सञ्जालहरुमा तीन तहका अदालतबाट जन्मकैदको सजाय तोकेको व्यक्तिलाई माफी दिनु कानुनी राज्यको उपहास भएको भन्दै विरोध गरिएको छ ।
आफू दोषी भए जन्मकैद मात्र नभएर मृत्युदण्ड नै भोग्न तयार रहेको चौधरीले बताए । उनले भने, ‘एउटा थारुलाई झुन्डाएर राज्यले मुक्ति पाउँछ ? मलाई जन्मकैद मात्र किन ? मृत्युदण्ड नै दिए भैगो नि । कानुन संशोधनका लागि मानवअधिकारवादी, कानुनविद्, सांसद मजासँग लागे हुन्छ ।’
टीकापुर घटनालाई आफूले जातीय द्वन्द्वमा जान नदिएको दाबी पनि उनले गरे । चौधरीले भने, ‘मजत्तिको सहनशील मानिस को छ ? हाम्रो पार्टीमा आइस् भने भोलि नै जेलबाट छुट्छस् भने पनि कुनै लोभ लालचमा परिनँ । मेरो रिहाइ हुँदा नेपालगन्जदेखि टीकापुरसम्मका नागरिकको मुहारमा आएको खुसी के कारण हो ? टीकापुर हत्याकाण्ड थारुले मच्चाएको हो र ? रेशम चौरीले मच्चाएको हो र ? हामी यो घटनाको दोषी होइनौं ।’
आफू टीकापुर काण्डमा मारिएका प्रहरीका परिवारको न्यायका लागि लागिपर्ने पनि चौधरीले बताए । उनले भने, ‘हुन त मप्रति उहाँहरुको आक्रोश होला । तर हामीले उहाँहरुका लागि पनि न्याय खोजिदिनुपर्छ । प्रहरी परिवारलाई पनि न्याय हुन्छ ।’ सहादतप्राप्त प्रहरी परिवारलाई टीकापुर घटनाको अन्तिम सत्य थाहा पाउने अधिकार रहेको उनले औंल्याए । टीकापुर घटनामा मारिएका टेकबहादुर साउदको परिवारलाई आज भेट्ने उनको कार्यक्रम छ ।

 



प्रतिक्रिया दिनुहोस्