Logo

सरकारलाई एमाले उपमहासचिव ज्ञावलीको प्रश्नः ‘रेशम निर्दोष भए, हत्यारा को हुन् ?’ (भिडियोसहित)



काठमाडौं, १६ जेठ । नेकपा (एमाले) का उपमहासचिव एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञावलीले पछिल्लो समय विधिको शासन खल्बलिएको टिप्पणी गरेका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले रेशम चौधरीको मुद्दामा सर्वोच्चले दोषी ठहर गरेको व्यक्तिलाई आम माफी दिइनुले विधिको शासन खल्बलिएको तथ्यलाई पुष्टि गरेको उनले बताए । सरकारको यो निर्णले आम जनताले कानुन, अदालत र संविधानमाथि नै प्रश्न उठाएको उनले बताए ।

‘विधिको शासन पछिल्लो समय खल्बलिएको छ । हिजोकै घटनाको कुरा गरौं, सर्वोच्च अदालतले अस्ति भर्खरै फैसला गरेको थियो रेशम चौधरी दोषी हुनुहुन्छ भनेर । तर, हिजो मन्त्रिपरिषद्ले निर्णय गरेर राष्ट्रपतिले माफी दिनुभयो । आज आम जनतामा त्यो भए अदालत किन राख्नुपर्यो ? कानुन किन चाहियो ? संविधान किन चाहियो ? भन्ने प्रश्न उठेको छ,’– उपमहासचिव ज्ञावलीले भने ।

अहिलेको अवस्थामा रेशम चौधरीलाई आम माफी दिनु गलत भएको एमालेको बुझाई रहेको र त्यसले विधिको शासनको पालना नभएको उनको दाबी छ । अहिलेको सरकार कमजोर भएका कारण राज्यलाईनै च्यालेन्ज गर्ने खाल्का मनोवृत्ति बढेको उनको आरोप छ । राज्य कमजोर हुनुको उपज भ्रष्चारचार पनि मौलाएको उनले बताए । जनतामा आएको चेतनाको कारण भ्रष्टाचारका विभिन्न काण्डहरु बाहिर आएको उनको दाबी छ । अहिले नेपालमा विधि रहेर पनि विधिको शासनको पालनामा समस्या भइरहेको उनले टिप्पणी गरे । सरकारले रेशमलाई निर्दोष करार गर्दैगर्दा दोषी को हो भन्ने कुरा सबै जनतालाई भन्न सक्नुपर्ने उनको भनाई छ ।

‘सरकारले निष्कर्ष निकाल्यो रेशम चौधरी निर्दोष हुन् । एउटा जवाफ त दिनुपर्ला नि ? त्यो भए त्यसदिन मारिने वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपाने, त्यस्तैगरी, गोली खाने डेढ वर्षको बच्चा, तिनीहरुको हत्याराहरु को हुन् त ?,’– उनले सरकारसमक्ष प्रश्न गरे ।

सरकारले आठ–आठ जना प्रहरी मारिएको घटनामा पनि दोषीलाई यसरी उन्मुक्ति दिँदै गएको खण्डमा सुरक्षाकर्मीहरुमा काम गर्ने मनोबल गिर्दै जाने उनको तर्क छ ।
‘रेशमले गरेनन् रे, सरकारको तर्क मानिदिएँ मैले । को हुन् त त्यसो भए ? आठ–आठ जना प्रहरी हत्या भएको घटनालाई पनि यत्तिकै भोलिदेखि कुन सुरक्षाकर्मीले कुन मनोबलका साथ काम गर्छ ?’– उनले प्रश्न गरे ।



प्रतिक्रिया दिनुहोस्