Logo

टीकापुर घटनामा सबैभन्दा निर्दोष कोही थियो भने म थिएँ, अपराधी हुँ भने मृत्यु दण्डको व्यवस्था होस्ः रेशम चौधरी (भिडियोसहित)



काठमाडौं, १६ जेठ । १६औं गणतन्त्र दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीलाई आम माफी दिएको छ । टिकापुर घटनामा तीनै तहको अदालतले उनलाई दोषी करार गरेको थियो । उनलाई जन्मकैदको सजाय तोकिएको थियो । डिल्लीबजार कारागारमा विगत पाँच वर्षदेखि जन्मकैदको सजाय भुक्तान गरिरहेका रेशमलाई सरकारले आम माफी दिएपछि सरकारको आलोचना सुरु भएको छ । सरकारले अदालतको गरिमामा आँच आउने काम गरेको नागरिकहरुले टिप्पणी गर्न थालेका छन् । रिहाई पछि रेशम चौधरी गृहजिल्ला कैलाली पुगिसकेका छन् । उनीसँग पाइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलाले गरेको संवादको सम्पादित अंशः

रिहाईपछि गृहजिल्ला पुग्नुभयो । त्यहाँका जनताले के भनेका छन् तपाईँलाई ? के छ प्रतिकृया ?

साढे पाच वर्ष जेलमा, ३ वर्ष प्रवासमा, करिब ८ वर्ष राजनीतिक परिभाषा गर्दाखेरि ८ वर्ष जेल जीवन बिताएको मानिन्छ । ८ वर्ष जेल जीवन बिताएर अहिले म जनताको बीचमा पुगे । मैले जनताको अनुहार हेरे । जुन जनताहरु आज मलाई स्वागत गर्न आउनुभयो । ८०,९०, ९५, १०० वर्षको त्यो जनतामा छुट्टै किसिमको खुसी, उत्साह देखिन्थ्यो । खै किन रेशम चौधरी छुटेर उहाँहरुमाथि खुसी छाएको हो ? म मनमनै सोच्दै छु, आखिर यस्तो खुसी छाउनुको कारण के हो त ? यस्तो खुसी छाउनुको कारण एउटै मात्रै हो, उहाँहरुले यो देशमा हाम्रो पनि केही अधिकार पाओस् । हाम्रो पनि कोही बोलवाला चलोस् । हाम्रा मान्छेहरु पनि शासन, प्रशासनमा बसुन् भन्ने उहाँहरुको चाहना रहेछ । म कैलाली पुगेर आफ्नो घरमा छिर्न पाएको छैन । मेरो बुवा र मुमाले मलाई घरमा छिर्न दिनुभएन । म अहिले सुतकमा छु । भोलि विहान ६ बजेमात्र कूल देवताको पुजा गरेपछि घर जान पाउँछु । कैलाली आएर सबैलाई हर्ष त लाग्छ । तर, टिकापुर साँच्चै उजाड, सुनसान भैसकेको रहेछ । मलाई लाग्यो टिकापुर विगार्नमा ठूला राजनीतिक दलहरुको हात, यिनै राज्य सञ्चालन गर्नेहरुको हात त होइन ?

तपाई साढे पाँच वर्ष जेलमा बसेर निस्किरहँदा आज विहान जसरी सम्मान पाउनुभयो, त्यो सम्मान पाइसकेपछि कतिपय नेताहरुले, मानव अधिकारवादीहरुले रेशम चौधरीलाई रिहा गर्न हुन्थेन । आम माफी दिन हुन्थेन । सरकारले गलत कदम चाल्यो । सरकारले कानुनी राज्यको उपहास गर्यो भनेर एमाले नेताहरुको प्रतिक्रिाउ आइसक्यो नि ?

मलाई एउटा कुरा के लाग्छ भने राजनीतिक दलहरुले राजनीति गर्नका लागि राजनीति गर्ने नै भोटका लागि होला । मैले भर्खरैमात्रै थाहा पाएँ, हाम्रो कञ्चनपुर जिल्लामा भोलीको लागि कार्यक्रम तय भएको थियो । तर, कुनै विपक्ष राजनीतिक दलका साथिहरुले त्यलाई असर्मथन भएपछि भोलि कार्यक्रम हुन नसक्ने भन्ने समाचार पाएँ । यसरी एउटा सिङगो समुदाएलाई चोट लगाउदा यसको परिणाम के भोगनुपर्छ । यो उहाँहरुले बेलैमा सोच्नुपर्छ । जुन क्रिया–प्रतिक्रिया आयो । हामीले अहिले अलिकति चर्को भषामा बोलेका छैनांै । नत्रभने साढे पाच वर्ष जेल र ३ वर्षको प्रवास यात्रामा मैले कसलाई चिनिन र ? मैले समाज, पत्रकार, मानव, अधिकारवादी,राज्य, शासक चिनिन कि त्यो त मैले मेरो पुस्तक टिकापुर घटनाको चिरफारमा लेखेकै छु नी ।

अहिले राष्ट्रिय वहसको विषय भएको छ । सोसल मिडियामा तपाईँको विरोध गरिएको छ । तीनै वटा अदालतले, जिल्ला, उच्च र सर्वोच्चले जन्मकैदको सजाय गरेको व्यक्तिलाई किन सरकारले रिहा गर्यो ? किन आम माफी दियो ? यो त गलत भयो । यो परम्परा ठीक भएन भनेर नागरिक समाजले विरोध गरिराखेको छ ।

मेरो लेख अस्ति तपाईले पढ्नु भयो होला । यदि म दोषी हु भने मलाई जन्मकैद किन ? मृत्यु दण्ड दिए भइहाल्यो नि । सबैजना मिलेर कानुन बनाइदिनुहोस् । सबै सरकारमा हुनुहुन्छ । सबै मानव अधिकारीवादीहरु आएर प्रदर्शन गरिदिनुस् । कानुनविद्हरु आएर सल्लाह दिनुहोस् । सबै सांसदहरु आएर, पक्ष, प्रतिपक्ष दलका नेताहरु आएर संसदमा बोलिदिनहोस् । मज्जाले मृत्युदण्ड दिए भइहाल्यो नि । एउटा थारुलाई झुण्ड्याएर राज्यले मुक्ति पाउँछ भने ठीकै छ त । म जतिको शहनशील मान्छे को छ ? मैले चाहेको भए टिकापुर विद्रोह जातीय द्वन्द्वमा परिणत हुन सक्थ्यो । तर, मैले सहे, चुपचाप भारत गए । भारतबाट पनि मलाई उकास्नेहरु धेरै थिए । तर, पनि म अरुले उकासेर उकासिइन । चुपचाप जेल जीवन स्वीकार गरँे । कसैको लालचमा फसिन, धेरै मान्छेले त मेरो पार्टीमा आइज, भोलि छुट्छौं, एक हप्तामा छुट्छौ, अहिलेका ठूला दलहरु सबैले भने । अहिलेका १,२,३ नम्बरका ठूला दलहरुले साढे पाच वर्षकै प्रस्ताव लिएर आए । मैले त्यो प्रस्ताव स्वीकार गरिन् । त्यो प्रस्ताव नस्वीकार्दा आज मलाई गर्व लागेको छ । ८०,९० वर्षका वृद्धवृदाको मुहारमा जुन चमक थियो, त्यो चमक हेर्न लायक थियो । यी मान्छेहरुको खुसी खोसेर यो देशका राजनीतिक दललाई के फाइदा हुन्छ ?

दलका नेताहरुको भनाई के छ भने, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले त भन्नु भएको छ, रेशमलाई न्याय होइन, अन्याय भयो । अदालतले न्याय दिइनसकेको अवस्थामा आम माफी गलत हो भने र उहाँले बताउनु भएको छ ।

हेर्नुस् घण्टी मन्दिरभित्र बजाउँदा देउताले सुन्छन् भन्ने हाम्रो पौराणिक परम्परा छ । घण्टी पीडामा बजाइन्छ र बजेको घण्टीले हाम्रो पीडा सुन्नुपर्दछ । ईश्वरले सुन्छन् भन्ने हाम्रो इच्छा हुन्छ । त्यसैले घण्टी जथाभावी बजाइयो भने त्यसको ध्वनी प्रदुषणले समाजलाई नै एक किसिमको असर पर्न जान्छ । म यतिमात्रै भन्न चाहन्छु, जसलाई पनि जे पनि नैतिक रुपमा पच्ने पचाउने खाल्कोमात्रै हुनुपर्छ । घण्टी मन्दिरमा बजेको सुहाउँछ । मन्दिरमा बजेको घण्टीले ओहो कस्तो घण्टी बज्यो, मेरो पनि मनोकामना पूरा हुन्छ कि भनेर मान्छेले सोच्छन् । घण्टी बजारमा, चोकचोकमा र जंगलमा पनि बजाउँदै हिँडुयो भने वन्यजन्तु पनि भाग्छन् ।

रास्वपाको भनाई के छ भने, रेशम चौधरीलाई रिहाई गर्नुहुन्थेन । अदालतले जन्मकैद गरेको मान्छेलाई आम माफी दिनु गलत हुन्छ भन्ने पार्टीका निष्कर्ष र रविजीको भनाई छ ।

म रविजी, म उहाँको व्यक्तिगत भनाई के हो ? उहाँको पार्टीको भनाई के हो, भन्नेसँग म सरोकार राख्दिन । म यतिमात्र जान्दछु, नेपालगञ्जदेखि टिकापुरसम्म विजय जुलुस यात्रामा अथवा मेरो स्वागत, मलाई भेटन आउनुभएको बाआमा, काकाकाकी, बाजेबज्यैलाई तपाईले देख्नु भएकोहोला ? उहाँहरुको मुहारमा आएको खुसी के कारणले हो ? हामी यो देशका नागरिक होइनौं ? जुन अवस्थामा हाम्रो देश नेपालसँग सिमेन्टको पिलर गाडेर हाम्रो सीमाको सुरक्षा गर्न आवश्यक थिएन । त्यो बेलामा सालको ठुटो गाडेर हामी यो देशको सिमाना रक्षा गर्दै छौं ।

टीकापुर हत्याकाण्ड के थारुले ग¥यो र ? टीकापुर हत्याकाण्ड के रेशम चौधरीले मच्चायो र ? टिकापुर हत्या काण्डको छानबिनहोस् त, हामीले भनेकै छौं । प्रहरी परिवारले साहदात प्राप्त परिवारले अब बल्ल न्याय पाउछन् । हामीले उहाँहरुको लागि पनि न्याय खोजि दिनुपर्छ । हुन त उहाँहरुलाई मप्रति हामीप्रति आक्रोश होला । त्यस्तो होइन । हामी भोलि विहान टेकवहादुर साउदको परिवारलाई भेटदैछौं । उहाँको परिवारले टिकापुरमा स्वागत गर्ने लक्ष्य बनाएको छ । एउटा अढाई वर्षको बच्चा मार्ने हत्यारालाई कहि त्यो परिवारले अपनाउन छ र ? म थारु हुँ । म भुमि पूत्र हुँ । मलाई गर्व छ, हामीले मर्ने मार्ने खेल जान्दैनांै । जसले ग¥यो उनले नै पुरस्कार पाए । जसले गर्न लगाए उनै मन्त्री, प्रधानमन्त्री भए ।

टिकापुरको आन्दोलनमा भाद्र ७ गते जुन दुर्घटना भयो, त्यो दुर्घटना हेर्ने देख्ने एउटा मान्छे थिएनन् । त्यो घटना दुर्घटना कुनै एउटा बन्द कोठा, गुफामा भएको होइन । त्यो घटना देख्ने बिसौ हजारका आँखा साक्षी थिए । जसरी बनाइयो त्यसरी त्यो घटना होइन । टिकापुर घटनाको झुटो मिसिल तयार गरियो ।

 

 



प्रतिक्रिया दिनुहोस्