Logo

महिलालाई काममा सघाउन परिवारसित छलफल



टीकापुर, १७ जेठ । घरपरिवारबाट महिला सदस्यलाई घरायसी काममा सहयोग गरी राजनीतिमा सक्रिय बनाउन महिला सदस्यका परिवारका सदस्यसँग छलफल थालिएको छ । घर तथा चुलाचौकामा व्यस्त महिला स्थानीय सरकारको नेतृत्वमा आएपछि घरायसी कामको तालमेल मिलाउन कठिन भएका बेला कैलालीको टीकापुरमा उनीहरूका परिवारका सदस्यसँग छलफल थालिएको हो ।

दलित महिला केन्द्र नेपालले टीकापुर नगरपालिकाका महिला तथा दलित महिला सदस्य र उनीहरूका परिवारका सदस्यसँग महिलालाई राजनीतिमा सक्रिय बनाउन परिवारको साथ अपरिहार्य हुने कुरा सिकाउन थालेको छ । तालिममा महिला सदस्य राजनीतिमा सक्रिय हुँदा, वडा तथा पालिकाका काममा हिँड्दा सहयोग नपाएमा कठिन हुने भन्दै उनीहरूलाई सचेत गराउन थालिएको टीकापुर नगरपालिकाका पूर्व उपप्रमुख केशरी रावल विष्टले बताए।

“राजनीति होस् या सामाजिक कार्यमा । महिलालाई बढी सहभागी गराउन परिवार सहयोगी हुनुपर्छ”, उनले भने, “बालबच्चा स्याहार, घरको सरसफाइ, भान्साको काम, खेतीपातीजस्ता सबै कामबाट महिलालाई उम्कने मौका दिनुपर्छ । महिला फुर्सदिला हुन घरका मानिस सबै कामकाजी भइदिनुप¥यो ।” छलफलमा महिला सदस्यका श्रीमान्, सासु र छोरा–बुहारी र छोरीलाई सहभागी गराउने गरिएको छ ।

टीकापुर–१ का दलित महिला सदस्य चरणदेवी विकका श्रीमान् रुपलाल विकले श्रीमती घरबाहिर काममा हिँड्दा सहकार्य र सहयोग गर्नुपर्छ भन्ने सिकाइ भएको बताए । “मैले राजनीतिमा सक्रिय हुन सघाएकै कारण उनी आज यहाँसम्म पुगेकी हुन्”, उनले भने, “हिजोको तुलनामा श्रीमतीको क्षमता विकास भएको छ । मैले घरको कामको बोझ उनमा थोपरेको छैन । जुन समयमा पनि उनलाई हिँड्न मिलेको छ ।”

वडा नं ६ का वडा सदस्य भारतीदेवी विकका श्रीमान् गणेश विक विगतमा विदेशमा थिए । फेरि पनि विदेश जाने तयारीमा रहेका गणेशलाई छलफलमा बसेपछि महिलालाई स्वतन्त्र हिँड्न दिएमा क्षमता विकास हुन्छ भन्ने लागेको छ । “म घरमा हुँदा सबै काम आफैँले गरेर उनका लागि सामाजिक कार्यमा सक्रिय हुने समय मिलाइदिएको छु, म नहुँदा पनि घरका सदस्यलाई सघाउन भनेको छु”, उनले भने, “श्रमती सचेत भएमा, उनको क्षमता विकास भएमा परिवार नै सचेत हुनेछन् भन्ने बुझेको छु ।”

वडा नं ३ का वडा सदस्य कमला विश्वकर्माकी सासु मञ्जरी विश्वकर्मा महिला देवीको स्वरुप भएकाले महिलाले काम गर्ने, सेवा गर्ने अवसर पाइरहेका बताए । “बुहारी वडा सदस्य छिन्, मैले घरको काममा कुनै सघाएको थिएन, सबै सहयोग छोराले मात्र गथ्यो”, उनले भने, “अब उनलाई सघाउनेछु, उनी काममा हिँड्दा बालबच्चा हेरिदिने, भान्साको काम गरिदिने छु । बुहारीले त समाजका लागि काम गरिरहेकी रहिछन् ।”

छलफलमा सहजीकरण गर्दै दलित महिला केन्द्र नेपालका डा. विन्दु पोखरेलले महिला पारिवारिक सम्बन्धका कारण बढी जिम्मेवारीमा रहने भएकाले ढुक्कले बाहिर हिँड्ने वातावरण बनाउन परिवारका सदस्यको साथ र बुझाइ मिल्न आवश्यक रहेको बताए । “पारिवारिक जिम्मेवारी महिलालाई बढी छ । उनीहरू घरको सबै काम सकेर वडा तथा पालिकाका काम, अन्य सामाजिक काममा हिँड्नुपरिरहेको छ”, उनले भने, “ महिलालाई पारिवारिक सम्बन्ध राम्रो नभएमा उनीहरू आफ्नो क्षमता विकास गर्न सक्दैनन् । पारिवारिक बुझाइका लागि छलफल फलदायी भएको छ ।”

रातदिन काममा हिँड्नुपर्दा जनप्रतिनिधि महिलाको चरित्रका कुरा बढी उठ्ने भएकाले परिवारको साथ र सहयोग आवश्यक छ । डा. पोखरेलले महिला काममा हिँड्दा घरको काममा सघाउँदा पनि भावानात्मक हिंसा भइरहेकाले परिवार खुलेर सहयोगी बन्नुपर्नेमा जोड दिए । “महिलाले धेरै जना भेट्नुपर्ने, जुन समयमा पनि हिँड्नुपर्ने, कहिलेकाहीँ अरुसँग हिँड्नुपर्दा चरित्रका कुरा उठाइन्छ”, उनले भने, “घरको काम गर्दा कर्तव्यबोध नगरी सहयोग गरिदिएको महसुस गराउनु हुँदैन । परिवार सहयोगी भएमा महिला धेरै अगाडि बढ्न सक्छन् ।”

हिजोका दिनमा घरधन्दामै ब्यस्त महिला जनप्रतिनिधि हुँदा, जिम्मेवारी सम्हाल्दा उनीहरूलाई घर र कार्यस्थलको कामको बोझ बढेकाले परिवार सहयोगी बन्न आवश्यक रहेको सामाजिक अभियन्ता निर्मला कडायतले बताए। “घरको साथ नपाए महिलाले पाएको जिम्मेवारी पनि कुशतापूर्वक सम्पन्न गर्न सक्दैनन्”, उनले भने, “महिलाको काममा सघाउने, स्वनिर्णय गर्न दिने, अध्ययनको वातावरण बनाउने काम परिवारकै हो ।” रासस



प्रतिक्रिया दिनुहोस्