Logo

डीएलए, नेपालको नेतृत्वमा स्थापित हुन तीनजना अघि सरे



काठमाडौं । नेपाली कांग्रेस निकट डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) नेपालको नेतृत्वमा स्थापित हुन तीनजना कानुन व्यवसायी अघि सरेका छन् । यही मिति २०८० जेठ २६ र २७ गते चितवनको टाँडीमा हुन गइरहेको डीएलको केन्द्रीय महाधिवेशनमा वरिष्ठ अधिवक्ता केदार कार्की, सीताराम केसी र अधिवक्ता लक्ष्मी रावल दाहाल अध्यक्षमा अघि सरेका छन् ।

त्यसो त भूषण घिमिरे, लक्ष्मण थपलिया, तेज रावललगायत पनि अध्यक्षको आकांक्षी देखिन्छन् । तर, मुख्य रुपमा कार्की, केसी र रावल अध्यक्षमा उठ्ने तयारीमा देखिन्छन् । २०४६ सालमा बहुदलीय व्यवस्था स्थापनाका लागि लडेर जेल समेत बसेका वरिष्ठ अधिवक्ता कार्कीलाई संस्थापन पक्षले साझा उम्मेदवारका रूपमा अघि सार्न खोजेको छ । उनलाई अध्यक्षमा अगाडि बढाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकट नेताहरुसँग परामर्श सुरु गरेका छन् ।

वरिष्ठ अधिवक्ता कार्कीको पक्षमा पार्टीका शीर्ष नेता र देउवा निकट वरिष्ठ कानुन व्यवसायी लागिरहेका छन् । युवा माझ पनि उनी लोकप्रिय एजेण्डाका साथ प्रस्तुत भएका छन् । कार्की २०६३/६३ को लोकतान्त्रिक आन्दोलनका नेपाल बारको केन्द्रीय सदस्य रहेका थिए । उनले बारको अगुवाइमा सुरू भएको उक्त आन्दोलनको अग्रणी मोर्चामा रहेर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि विशेष भूमिका निर्वाह गरेका छन् ।
प्रतिबद्धता पत्रसहित कार्की मैदानमा उत्रिसकेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेल निकट कानुन व्यवसायी सीताराम केसी अघिल्लोपटक योगेन्द्र अधिकारीसँग पराजित भएका थिए । योगेन्द्रसँग पराजित भएका केसी यसपटक पनि डीएलएको अध्यक्ष बन्ने दौडधुपमा लागेका छन् । रामचन्द्र पौडेल शेखर-गगन समूहबाट अलग भएकाले केसीलाई केही समस्या हुने देखिन्छ । तर उनी डीएलको अध्यक्षमा लड्ने मनस्थितिमा देखिन्छन् ।

डीएलएकी वर्तमान महासचिव लक्ष्मी रावल पनि डीएलए अध्यक्षको तयारीमा लागेकी छिन् । उनी अध्यक्षमा उठ्नका लागि प्रकाशमान सिंहलगायतको समर्थन खोजिरहेकी छिन् । अहिले डीएलएको अध्यक्षमा कार्की, केसी र रावलबीच नै प्रतिस्पर्धा हुने देखिन्छ । तर, उनीहरूबीच सहमति भएर नेतृत्व चयन हुने कुरालाई नकार्न सकिन्न । डीएलएको चुनाव नजिकिँदै जाँदा चुनाव हुने/नहुनेमा अन्योलता कायमै छ ।



प्रतिक्रिया दिनुहोस्