Logo

नेपाल–भारत सम्बन्धलाई हिमालजस्तै उचाईमा पुर्याउनेगरि काम गरेका छौं : मोदी (भिडिओसहित)



काठमाडौं, १८ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारत सम्बन्धलाई हिमालजस्तै उचाईमा पुर्याउनेगरि आफूहरुले काम गरिरहेको बताएका छन् । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मोदीले यस्तो बताएका हुन् । उनले भने,‘हामी आफ्नो सम्बन्धलाई हिमालजस्तै उचाई दिनको लागि काम गर्दै जानेछौं । र, यही भावनाले हामी सबै विषय चाहे त्यो सिमाको विषय होस वा अरु कुनै विषय, सबै विषयको समाधान गर्छौं ।’

मोदीले भारत र नेपालबीच धार्मिक र सांस्कृतिक सम्बन्ध पनि धेरै पूरानो र मजबुद रहेको स्मरण गराए । उनले भने,‘यो सुन्दर पक्ष हो, यसलाई अझै प्रगाढ बगाउनुपर्छ । प्रधानमन्त्री प्रचण्डजी र मैले रामायण सर्किटसँग सम्बन्धित परियोजनालाई अझै प्रभावकारी बनाउनको लागि सहमति गरेका छौं ।’

उनले नेपाल र भारतबीचको सम्बन्धमा आफूले आफूहरुको बोर्डर ब्यारिअर बन्न हुँदैन भनेर धेरै पहिले भनेको उल्लेख गर्दै अब त्यहीअनुसार अघि बढ्ने सुझाए । उनले भने,‘मलाई याद छ, ९ वर्ष पहिले सन् २०१४ मा मैले पहिलो कार्यभार सम्हालेको तीन महिनाभित्रै नेपालको पहिलो भ्रमण गरेको थिएँ, त्यतिबेला पनि मैले भारत र नेपाल सम्बन्धको लागि हिट फर्मुला दिएको थिएँ–हाइवेज, आई–वेज र ट्रान्स–वेज ।’

 



प्रतिक्रिया दिनुहोस्