Logo

अखिल (छैठौं) सहितका विद्यार्थी संगठनले जलाए नेपाली भू–भाग समेटिएको भारतीय नक्सा



काठमाडौं, १८ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अखिल क्रान्तिकारी, अखिल (छैठौं), नेकपा (एस) निकट अनेरास्ववियुसहित अन्य संयुक्त विद्यार्थी संघले भारतले जारी गरेको अखण्ड भारतको नक्सा जलाएका छन् ।

हिजो (बुधबार) माइतिघर मण्डलामा प्रदर्शन गर्दै उनीहरुले नेपालको भू–भागसमेत समेटेर भारतले जारी गरेको नक्सा जलाएका हुन् । अखिल (छैठौं) का नेता पुरन पोखरेलले सार्वभौम सत्ता सम्पन्न मुलुकका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको हैसियत भुलेको अरोप लगाए । नेपालका प्रधानमन्त्रीलाई भारतीय राज्यमन्त्रीले स्वागत गर्नु अपमान भएको उनको भनाई छ ।

‘नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्यू नेपालको अन्तर्राष्ट्रिय विमान स्थलबाट हात ठाडो गराउँदै हसिलो मुहार लिएर जसरी दिल्लीमा अवतरण हुँदै गर्दा नेपालका सार्वभौम सत्ता समपन्न मुलुकको प्रधानमन्त्रीलाई आज एउटा राज्यमन्त्री स्वागत गरिरहेको छ । नेपालको प्रधानमन्त्रीको हैसियत के त्यही हो ?’– उनले प्रश्न गरे ।

अहिले आम जनताले राष्ट्रियताको बारेमा चिन्ता व्यक्त गरिरहेको उनको भनाई छ । जनताको आवाज बोल्ने जिम्मा पाएर संसद्मा छिरेकाहरुले समेत देशको सार्वभौम सत्ता र राष्ट्रियताको बारेमा आवाज उठाउन नचाहेको उनको भनाई छ ।

देशको पक्षमा संसद्मा अहिले चित्रबहादुर केसी र प्रेम सुवालको भन्दा अरुको आवाज सुनिन छाडेको उनले बताए । विद्यार्थी आन्दोलन प्रतिरक्षाको आन्दोलन भएको उनले बताए । देशको सार्वभौम सत्ता र स्वाधिनताका लागि आफूहरु सडकमा उत्रिएर खबरदारी गर्न तयार रहेको उनको भनाई छ ।

विद्यार्थी आन्दोलन प्रतिपक्षाको आन्दोलन हो । विद्यार्थि संगठनको आन्दोलनले पार्टी सत्तामा हुँदा पनि जनताको पक्षमा रहेर सडकमा आउने हैसियत राख्नुपर्छ,’– उनले भने ।
विगतका दिनमा लिपुलेक र कालापानीको विषय उठाएर आफूहरुले आन्दोनलको नेतृत्व गरेको स्मरण गर्दै उनले अहिलेको विद्यार्थी आन्दोलन ‘अखण्ड भारत’ को नाममा नेपालको भू–भाग समावेश गरेर जारी भएको नक्साको विरुद्ध हुनपर्ने बताए ।

 



प्रतिक्रिया दिनुहोस्