Logo

भारतविरुद्ध नेकपानिकट विद्यार्थी संगठनको विरोध प्रदर्शन, तत्काल नक्साबाट नेपाली भू–भाग हटाउन माग (फोटोफिचर)



काठमाडौं, २० जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियु (क्रान्तिकारी) ले भारतले नेपाली भू–भाग समावेश गरी ‘अखण्ड भारत’ को नक्सा सार्वजनिक गरेको भन्दै विरोध प्रदर्शन गरेको छ । अनेरास्ववियु (क्रान्तिकारी) का नेता तथा विद्यार्थीहरुले ‘अखण्ड भारत नो, ग्रेटर नेपाल एस, सबै खाले वैदेशिक हस्तक्षेप बन्द गर, राष्ट्रिय स्वाधीनताको रक्षा गरौं’ लगायतका नारा लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

भारतले नयाँ आफ्नो नयाँ संसद् भवनमा नेपालको कपिलवस्तु र लुम्बिनीको भूभाग समावेश भएको नक्सा राखेको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट विद्यार्थी संगठनले नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवलाई भेटेर ज्ञापन पत्रसमेत बुझाएको छ ।

‘तथाकथित अखण्ड भारतको नक्सामा नेपाली भूमि समेटिनु मोदी सरकारका यस्ता गतिविधि साम्राज्यवादी नीतिको प्रतीक हुन् । हाम्रो सङ्गठनले यस्तो भारतीय साम्राज्यवादी व्यवहारको घोर भर्त्सना र विरोध गर्दछ । साथै आफ्नो संघीय संसदको पर्खालमा जोडिएको नक्साबाट कपिलवस्तु र लुम्बिनी जस्ता नेपाली ऐतिहासिक र अध्यात्मिक भू–भाग हटाउन तत्काल राजनीतिक र कूटनीतिक पहल गर्न नेपालस्थित भारतीय दूतावासलाई जोडदार माग गर्दछ,’– ज्ञापन पत्रमा भनिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्