Logo

प्रधानमन्त्री प्रचण्ड चार दिने भारत भ्रमण सकेर स्वदेश फिर्ता, के-के भए सम्झौता ?



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने भारत भ्रमण सकाएर नेपाल फर्किएका छन् । उनी चढेको नेपाल एयरलाइन्सको जहाज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाडौंमा ल्याण्ड भइसकेको छ ।

दिल्लीस्थित इन्दिरा गान्धी विमानस्थलमा प्रचण्डलाई भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखीले विदाई गरेकी थिईन् । भ्रमणका क्रममा दुवै प्रधानमन्त्रीले द्विपक्षीय वार्ताका क्रममा राजनीतिक, आर्थिक, व्यापार, ऊर्जा, सुरक्षा तथा विकास सहकार्यलगायतका विषयवस्तुलाई समेट्दै भारत र नेपालबीचको द्विपक्षीय एजेन्डाका सम्पूर्ण पक्षको समीक्षा गरेका थिए ।

प्रधानमन्त्री दाहालले भारतका राष्ट्रपति द्रौपदी मुर्मू तथा उपराष्ट्रपति जगदीप धनकडसँग शिष्टाचार भेटवार्ता गरेका थिए । त्यस्तै, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले पनि प्रधानमन्त्री दाहालसँग दिल्लीमा शिष्टाचार भेटवार्ता गरे ।

दुवै प्रधानमन्त्रीले दुई देशबीच रहेको उत्कृष्ट सहकार्यको उल्लेख गरेका थिए । जुन सहकार्य कोभिड–१९ महामारीले निम्त्याएको विषम परिस्थितिको बेला पनि कायम थियो । दुई देशबीचको बलियो आर्थिक तथा व्यापार साझेदारीमाथि प्रकाश पार्दै दुवैले अन्य सम्झौतालगायत भारतको आन्तरिक जलमार्गमा पहुँच प्रदान गर्ने संशोधित पारवहन सन्धिमा हस्ताक्षर गरेकामा स्वागत गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा विद्युत् व्यापार, पञ्चेश्वर आयोजनाको डिपिआर अन्तिम रुप दिने, रेल सम्पर्क सञ्जाल र महाकालीमा दुई वटा पुलको निर्माण गर्ने सहमति बनेको छ ।



प्रतिक्रिया दिनुहोस्