Logo

उज्जैन नयाँ अवतार होइन: प्रधानमन्त्री प्रचण्ड



काठमाडौं, २० जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महाराष्ट्रको उज्जैनस्थित महाकालेश्वर मन्दिरमा गरेको पुजाअर्चनाको आलोचना गर्नुको कुनै औचित्य नरहेको बताएका छन् ।

चार दिने भारत भ्रमणबाट फर्किएपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले धर्मनिरपेक्षता भनेको धर्मको विरोध गर्नु नभएको बताएका हुन् । सबै धर्मलाई समान व्यवहार गर्न आवश्यक रहेको उनले बताए । अरुकोमा जाने र हिन्दुकोमा नजाने भन्ने कुरा तर्क संगत नहुने उनको भनाई छ ।

‘हिन्दुकोमा मात्रै जान नहुने, अरुकोमा जान हुने भन्ने हुन्छ र ? म वास्तवमा मनैले धर्मनिरपेक्षतावादी हो । धर्म निरपेक्ष भनेको धर्म विरोधी भन्ने होइन नि । सबै धर्मलाई समान व्यवहार गर्ने र राज्यले कुनैलाई काखापाखा नगरोस् भन्ने हो । मैले हिन्दु, मुस्लिम, क्रिश्चियन, बुद्धिष्ट सबै धर्मालाम्बीहरुमाथि समान व्यवहार गर्नुपर्छ,’– उनले भने ।

उनले उज्जैन अवतार पुरानै भएको बताए । आफूले मुस्लिमहरुको कार्यक्रममा मुस्लिम भएर बसेको, मुस्लिमहरुको टोपी लगाएको, क्रिश्चियनहरुको गिर्जाघर गएको र बुद्धिष्टहरुको कार्यक्रममा सहभागी भएको समेत पत्रकारहरुलाई स्मरण गराए ।

‘उज्जैन नयाँ अवतार हैन । यो मेरो पुरानै अवतार हो । केही नयाँ ठान्नुपर्दैन यसलाई । तपाईहरुले म मुस्लिमको कार्यक्रममा गएर मुस्लिमहरुको टोपी लगाएर म मुस्लिम भएको देख्नु भएको छ कि छैन ? देख्नु भएको छ नि तपाईहरुले । म धेरै चोटी गएको छु नि मदरसाहरुमा । क्रिश्चियनको गिर्जाघरमा गएर मन्त्र जप्दा म बसेको छु । लुम्बिनीमा बुद्धिष्टहरुको कार्यक्रममा सहभागी भएको तपाईँहरुले देख्नु भएको छैन ?’– प्रधानमन्त्री प्रचण्डले प्रश्न गरे ।

चार दिने भारत भ्रमणमा रहेका प्रचण्डले भारतका १२ ज्योर्तिलिङमध्ये एक महाकालेश्वर मन्दिरमा पुजा अर्चना गरेका थिए । प्रचण्डले नेपालबाट लगिएको १०८ केजी रुद्राक्ष तथा ५१ हजार रुपैया दान गर्दै शुक्रबार विशेष पुजा गरेका हुन् । उनले सो क्रममा मन्दिर भित्र पुजापाठसहित श्रीमती सीता दाहालको स्वास्थ्य लाभको कामना गर्दैै आरतीसमेत गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्