Logo

प्रचण्डको भारत भ्रमण शुभकामना आदानप्रदानमा सीमित : डा. लोहनी



काठमाडौं, २१ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण शुभकामना आदानप्रदानमा सीमित भएको टिप्प्णी गरेका छन् ।
प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच शुभकामना लिनेदिने काम भयो । शुभकामनाका हिसाबले गुडविल भिजिट राम्रै हो । केही सम्झौता पनि भएका छन् । तर त्यसलाई व्यवहारमै हेर्नुपर्ने हुन्छ, नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।
पूर्वपरराष्ट्रमन्त्री डा. लोहनीले नेपालको बिजुली बंगलादेशलाई बेच्न भारतको ग्रिड सिस्टमबाट लैजाने नेपालको चाहना भने सफल भएको बताए । उनले भने, ‘भएको कुरालाई भएको भन्छु म । ५० मेगावाट भए पनि नेपालको बिजुली बंगलादेशमा बेच्न भारतको ग्रिड सिस्टम दिने कुरा भएको छ । सुरुवात राम्रो हो । तर बंगलादेशसँग बिजुली खरिद सम्झौता भइसकेको छैन । नभईकन नै उपलब्धि भन्न मिल्दैन ।’
नेपाल विद्युत् प्राधिकरणले ४८० मेगावाटबाट ६ सय मेगावाट बिजुली निकासी गर्न देऊ भन्दा पनि भारत नमानेको पनि उनले बताए । डा. लोहनीले थपे, थप दुई सय मेगावाट विद्युत् व्यापार गर्न भारतले स्वीकृति दिएको छैन । तुरुन्त चाहिएको कुरा नदिने अनि व्यवहारमा नआईकन भ्रमणलाई सफल वा उपलब्धिमुलक कसरी भन्ने ?’
‘महाकाली सन्धिमा पानी, बिजुली, खर्च र लाभ आधाआधा भन्ने सिद्धान्त तय भएको थियो । भारतले महाकाली सन्धिले नदिने कुरा म गर्दिनँ भन्नुभएको छ । उहाँले जे गर्नुभएको छैन, त्यो पनि ठीक गर्नुभएको हो । तर भारतले इपीजीको रिपोर्ट लिन के गाह्रो भन्ने कुरा उठाउन नसक्नु प्रचण्डको कमजोरी हो । अब बोल्या भरमा के के न भयो भन्दै हिँड्नुको अर्थ छैन,’ डा. लोहनीले थपे ।
अर्को प्रसंगमा डा. लोहनीले सीमा समस्या समाधानका लागि सचिवस्तरीय कमिटीको बैठक तत्काल राख्नुपर्ने औंल्याए । उनले भने, ‘सचिवस्तरीय कमिटीले कामै गरेको छैन । त्यसमा भारतीय मित्रहरुले चासो राख्नुभएको छैन । सचिवस्तरीय बैठक तुरुन्त बस्नुपर् यो ।’
परिपक्व नेता भनी निकै आशा गरिएका राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेर पहिलो गाँसमै ढुंगा लागेको प्रतिक्रिया उनले दिए । डा. लोहनीले भने, ‘हो, नेपाली नागरिकका सन्तानलाई नागरिकता पाउने अधिकार छ । यसमा कसैको विमति छैन । तर हरेक कुराको प्रक्रिया हुन्छ । नयाँ संसद आएको छ, नयाँ दल आएका छन् । पहिलेको संसदमा मृतप्रायः भएको विधेयक प्रमाणीकरण गर्न मिल्छ ? निकै आशा गरिएका परिपक्व राष्ट्रपतिको कदमबाट पहिलो गाँसमै ढुंगा लागेको छ ।’



प्रतिक्रिया दिनुहोस्