Logo

रामपुरमा गलमादी खोला कटानको जोखिम



रामपुर (पाल्पा), २१ जेठ । पाल्पाको रामपुर नगरपालिका– ४ स्थित गलमादी खोलाले धार परिवर्तन गरी जमिन कटान गरेपछि जोखिम बढेको छ ।

पुरानो धार परिवर्तन गरेर नयाँ ठाउँबाट खोला बगेपछि यस क्षेत्रका खेतीयोग्य जमिन तथा बस्ती जोखिममा परेका छन् । खोला कटानका कारण खेतमा लगाइएका धानबालीमा बाढी पसेपछि उत्पादन नै स्याहर्न नपाउने अवस्था रहेको स्थानीय चन्द्रबहादुर श्रेष्ठले गुनासो गरे । उनको छ रोपनी खेत जोखिममा परेको छ ।

तीन वर्षदेखि खोलाले धार परिवर्तन गरेर खेत कटान गर्न थालेपछि वर्षायाममा खोलाको बाढी पसेर धानबालीमा क्षती पु¥याउने गरेको श्रेष्ठले बताए । उनले भने, “पहिलाको ठाउँबाट करिब १२ मिटर दक्षिणतर्फ खोला पसेर खेतको धान सबै बाढीले नष्ट गरिरहेको छ, दुःख गरेर लगाइएको बाली क्षणभरमा नै बाढी पसेर नोक्सान गरिरहेको छ, एक वर्षमा ४० मुरी धान फल्ने खेत पूरै जोखिममा छ ।” कटान रोक्नलाई उनीे आफैँले रु एक लाख ५० हजार बराबरको रकम खर्चेर तटबन्ध गरे पनि धेरै ठाउँमा तटबन्ध गर्नुपर्दा समस्या भएको श्रेष्ठले बताए ।

वर्षायाम सुरु भएपछि महम्मद वकिल मियाँ रातभर ढुक्कले निदाउन सक्दैनन् । गलमादी खोलाको ढिकमा बसोबास गर्दै आएका उनलाई खोलामा पानीको बहाव बढेर आउँदा कतिबेला पहिरोले घर नै लैजाने हो भन्ने चिन्ताले सताउने गर्छ ।

“खोलाको किनारमा बस्ती छ । वर्षायाममा खोलाले बस्ती कटान गरिरहेको हुँदा जोखिम मोलेर बसोबास गर्नु परेको छ । सम्बन्धित निकायले यसको समस्या समाधानमा ध्यान दिनुप¥यो”, उनले भने ।

मियाँको बारीखण्ड अन्तर्गत दुई रोपनी १२ आना घरसहितको जग्गा जोखिममा परेकोछ । विसं २०५४ देखि बसोबास गर्दै आएको जग्गा पछिल्लो तीनवर्ष यता जोखिममा परेको भन्दै उनको भनाइ छ ।

गलमादी खोलाको कटानबाट खेतखण्ड (खोला बहेको स्थान तलको भाग) र बारीखण्ड (खोलामाथिको भाग) गरी करिव ४० रोपनी जोखिममा छ । करिब एक सय ५० मिटर क्षेत्रफल खोलाले कटान गरेको छ । खोलाले मुख्य बहेको ठाउँ परिवर्तन गरी देवबहादुर आलेको छ रोपनी, मेगबहादुर आलेको छ रोपनी र चन्द्रबहादुर आलेको छ रोपनी खेततर्फ जग्गा कटान गरिसकेको छ ।

बारीखण्ड अन्तर्गत (माथिल्लो भाग) सूर्यबहादुर घर्तीको तीन रोपनी, पतिराम गाहाको तीन रोपनी, महम्मद वकिल मियाँको दुई रोपनी १२ आना, हुमबहादुर आलेको तीन रोपनी (घरसहित), सुमन आलेको साढे दुई रोपनी (घरसहित), यमबहादुर आलेको पाँच रोपनी (घरसहित) जग्गासहित यहाँका करिब एक दर्जन वस्ती जोखिममा छन् ।

खोलाले कटान गरेको क्षेत्र, यस आसपासका क्षेत्रका खेतबारी तथा बस्ती जोखिममा परेपछि लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री वीरबहादुर रानाले स्थलगत अनुगमन गर्नुभएको छ । उहाँले कटान रोक्नका लागि प्रदेश सरकारमार्फत यसअघि वजेट विनियोजन गरेर केही कामहरु भइरहेको र यसलाई पुन : बजेट विनियोजन गरेर तटबन्धको कामलाई निरन्तरता दिइने बताएका छन् ।

“कटान क्षेत्र अनुगमन गर्दा खेतीयोग्य जमिन मात्र नभइ यस आसपासँंग जोडिएका (माथिल्लो भागबाट पहिरो खसेर) बस्ती जोखिममा छन्”, उनले भने, “कटान गरेको ठाउँमा तटबन्ध गर्ने र पहिरो गएको ठाउँमा तारजाली लगाएर व्यवस्थित गर्नुपर्छ, यसका लागि प्रदेश सरकारबाट मैले बजेट व्यवस्थानमा पहल गर्नेछु” ।

यहाँ तत्काल कटान गरेको ठाउँमा व्यवस्थित तटबन्ध नगर्ने हो भने यसले धेरै ठाउँमा कटान गरी ठूलो क्षती पु¥याउनेछ । चालु आर्थिक वर्षमा लुम्बिनी प्रदेश सरकारबाट विनियोजित रु दश लाख रकमले तटबन्धको काम गरेको रामपुर ४ का वडाध्यक्ष रामबहादुर रानाले जानकारी दिए ।
उनले भने, “यस खोलाले यस क्षेत्रमा तीन ठाउँमा घरवस्ती नै उच्च जोखिममा पारेको छ, यसलाई समयमा नै व्यवस्थापन र संरक्षण गर्न सकिएन भने बस्ती नै पहिरोले लैजाने अवस्थामा छ” । सानो रकमबाट तटबन्ध नहुने हुँदा ठूलो रकमका लागि माथिल्लो निकायले नै बजेट उपलब्ध गराउनुपर्नेछ ।

वर्षायामको समय नजिकिँदै गर्दा यस क्षेत्रका स्थानीयलाई त्रास उत्तिकै बढेको छ । रामपुरको धान उत्पादनका लागि उपयुक्त मानिएको यस क्षेत्रमा कटानको समस्याले उत्पादनमा ह्रास ल्याएको छ । रासस



प्रतिक्रिया दिनुहोस्