Logo

आयोजक टीका भैरव टिम च्याम्पियन



काठमाडौँ, २१ जेठ । आयोजक टीका भैरवले सो–क्योकुसिन कराते ब्राञ्च डोजो छैटौँ राष्ट्रव्यापी टीका भैरव सो–क्योकुसिन कराते प्रतियोगिताको च्याम्पियन बनेको छ । टीका भैरवले पाँच स्वर्ण, तीन रजत र दुई कास्य पदक प्राप्त गर्दै उपाधि जितेको हो ।

गोदावरी नगरपालिका–६ स्थित टीका भैरव मन्दिरको प्राङ्गणमा भएको उक्त प्रतियोगितामा एक स्वर्ण र दुई रजतकासाथ ठेचो डोजो तथा केन्द्रीय डोजो एक स्वर्ण र एक कास्यसहित तस्रो भयो । प्रतियोगितामा पुरुषतर्फ आयोजक टीका भैरवका अर्जुन नगरकोटी तथा महिलातर्फ केन्द्रकी अन्सु राई उत्कृष्ट खेलाडी घोषित भए ।

यसैगरी पुरुष ३० किलो तौल समूहमा विश्वास मार्फा तामाङ, ३५ किलोमा निरोज नगरकोटी, ५० किलोमा राजेश नगरकोटी, ६० किलोमा अजय तामाङ र खुला तौलसमूहमा अर्जुन नगरकोटीले टिका भैरवलाई स्वर्ण दिलाए । पुरुष ४० किलोमा ठेचोका आशिष घिमिरे तथा महिला खुला तौलसमूहमा केन्द्रकी अन्शु राईले स्वर्ण जितिन् ।

विजेता खेलाडीलाई बागमती प्रदेशका प्रदेशसभा सदस्य मीनकृष्ण महर्जन, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जनलगायतले पुरस्कार प्रदान गरे । सो अवसरमा ललितपुर उसु टोलीले प्रदर्शनी खेल प्रस्तुत गरेको थियो भने स्थानीय कलाकारले नृत्य प्रदर्शन गरेका थिए । दुईदिने प्रतियोगिताअन्तर्गत पुरुषतर्फ छ र महिलातर्फ एउटा स्पर्धामा एक सय ५० खेलाडी सहभागी भएका आयोजक संस्थाले जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्