Logo

नक्कली शरणार्थी प्रकरण: फरार अभियुक्त कोही अमेरिका, कोही भारतमा



काठमाडौं, जेठ २२ । नक्कली शरणार्थी प्रकरणमा प्रहरीको फरार सूचीमा रहेका अभियुक्तहरू भारत र अमेरिकामा समेत पुगेको नेपाल प्रहरीले जनाएको छ । सो प्रकरणमा अझै १२ जना प्रहरीको फरार सूचीमा छन् । १८ जना पक्राउ परिसकेका छन् । फरार रहेकाहरूको प्रहरीले खोजी गरिरहेको छ ।

प्रहरी स्रोतका अनुसार अशोक पोखरेलसहित अर्का एक फरार अभियुक्त अमेरिकामा छन् । उनीहरूविरुद्ध प्रहरीमा जाहेरी परेपछि अमेरिका पुगेका पाइएको हो । यस्तै पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापा भारतमा रहेको प्रहरीसमक्ष सूचना आएको छ ।

‘नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार सूचीमा रहेकामध्ये अशोक पोखरेलसहित केही अभियुक्त अमेरिकामा र प्रतीक थापा भारतमा रहेको सूचना छ, केही अभियुक्त स्वदेशमै रहेको पनि बुझिएको छ, खोजी गर्दै छौं,’ प्रहरी स्रोतले भन्यो ।

प्रहरीको फरार सूचीमा पूर्वगृहमन्त्री बादलका छोरा प्रतीक थापा र सुरक्षा सल्लाहकार इन्द्रजीतका छोरा निरज राईसहित केशव तुलाधार, अशोक पोखरेल, धीरेन राई, मोहनराज राई, दीपा हुमागाईं, सुनिल बुढाथोकी, विनितासावदेन लिम्बु, निरञ्जनकुमार खरेल, राजेश अर्याल र आशिष बुढाथोकी छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले फरार सूचीमा रहेका अभियुक्तहरूको खोजी भइरहेको जानकारी दिए ।

यसैगरी, उपत्यका अपराध अनुसन्धान कार्यालयमा एसएसपी डा। मनोज केसीले पनि प्रहरीले आफ्नो संयन्त्रमार्फत देश तथा विदेशमा रहेका अभियुक्तहरूको खोजी गरिरहेको बताए । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा पक्राउ परेका १६ जनासहित ३० अभियुक्तमाथि प्रहरीले उनीहरूको संलग्नता खुल्ने ४३ वटा प्रमाण फेला पारेको थियो ।

प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको अनुसन्धान प्रतिवेदनपछि पक्राउ परेकाहरूको बयान सकाएर थुनछेक बहस जारी छ । उनीहरूबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा २७ करोड ५० लाख ७४ हजार ५ सय रुपैयाँ असुलउपर गर्न माग गरिएको छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्