Logo

पृथ्वीको ख्याल गरौं, बाँच्न योग्य बनाऔं : वातावरणविद्



काठमाडौं, २२ जेठ । वातावरणविद् भूषण तुलाधरले जलवायु परिवर्तनका कारण विश्वमै तापक्रमको अत्यधिक वृद्धि भइरहेको बताएका छन् ।
‘नेपालमा मात्र नभएर विश्वभरी नै वातवरणीय समस्या छन् । खासगरी जलवायु परिवर्तनका कारण विश्वमा तापक्रम वृद्धि भएर मौसममा समस्या देखा परेका छन् । प्रदूषण बढेको छ । सहरीकरण तीव्र छ । मानवीय क्रियाकलापलाई राम्रोसँग व्यवस्थापन गर्न नसक्दा वातावरणीय सन्तुलन बिग्रेको छ । बिग्रेको पनि हाम्रै कारण हो, सुध्रने पनि हाम्रै कारण हो,’ विश्व वातावरण दिवसका अवसरमा नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।
तुलाधरले नेपालमा समस्याका कुरा गरे पनि समाधानबारे कमै चर्चा हुने बताए । उनले भने, ‘हामी समस्या मात्रै हेर्छौं, समाधानको कुरा गर्दैनौं । वातावरणीय सन्तुलनका लागि कार्बनको उत्सर्जन कम गर्नुपर्छ । घरमै कम्पोस्ट मल बनाएर फोहोरमैला व्यवस्थापन गर्न सकिन्छ । प्लास्टिकको झोलाको विकल्पमा कपडाको झोला प्रयोग गर्न सकिन्छ । पेट्रोलियम गाडीको विकल्प विद्युतीय सवारी हुन सक्छ । म केही गर्छु भन्ने इच्छाशक्ति हुने हो भने धेरै समस्याको समाधान हुन सक्छ ।’ उनले पृथ्वीको भविष्य मानवकै हातमा रहेको पनि औंल्याए । तुलाधरले थपे, ‘पृथ्वीको ख्याल गर्ने हो पृथ्वी राम्रो हुन सक्छ, बाँच्न योग्य हुन सक्छ ।’



प्रतिक्रिया दिनुहोस्