Logo

उमेरले छेकेन पढ्ने रहर, उनन्चास बर्षिया विमला एक कक्षामा पढ्दै



घोराही, जेठ २२ । घोराही उपमहानगरपालिका–१८, रझेना निवासी ४९ वर्षीय विमला मानन्धर कक्षा १ मा अध्ययन गर्दै आएकी छन्। अन्य विद्यार्थी जस्तै विमला हरेक दिन किताब, कापी झोलामा बोकेर विद्यालय आउने र पढ्ने गर्दै आएकी हुन् ।

घरायसी कामसँगै छोरीले पढ्नु हुँदैन भन्ने प्रचलनका कारण सानोमा पढ्न नपाएकी विमला अहिले भने घोराही उपमहानगरपालिका–१८, रझेनामा रहेको चेतना महिला अनौपचारिक विद्यालयमा गएर अध्ययनरत छिन्। सानैदेखिको पढेर ज्ञान हासिल गर्ने इच्छा पूरा गर्नका लागि अहिले विद्यालय आउने गरेको उनले बताईन्।

विमलाले भनिन्, “पहिले पढ्छुभन्दा पनि छोरीले पढ्न पाउने अवस्था थिएन। घरको काम गर्नु पथ्र्यो। अहिले घरको कामको झमेलाबाट मुक्त भएको छु, त्यसैले बुढेसकालमा भए पनि पढ्न लेख्न सिक्दै छु।”

सामान्य रूपमा भए पनि लेख्न, पढ्नसँगै घरायसी हिसाब आफैँ गर्न सक्ने हुँदा खुसी लाग्ने गरेको उनको भनाई छ । उनले भनिन्, “पहिले लेख्न, पढ्न आउँदैन थियो। छोराछोरीसँगै सानातिनामा भर पर्नुपर्ने बाध्यता थियो। आफैँ पढ्न, लेख्न जानेपछि सजिलो भएको छ।”

घोराही–१६, सर्रा निवासी ५२ वर्षीय देवीकुमारी खड्कालाई पढ्न लेख्न आउँदैन थियो। जसले गर्दा उनलाई घरमा हिसाब मिलान गर्नेदेखि बैङ्क जाँदा भौचर भर्न समस्या हुने गरेको थियो। जसले गर्दा ति कामका लागि अरूको भर पर्नुपर्ने समस्या भोग्दै आएकी देवीकुमारीले ढिलै भए पनि ज्ञान हासिल गर्न लाज मान्नु हुँदैन भनेर विगत केही वर्षदेखि अध्ययन गर्दै आएकी छन्। अहिले ४ कक्षामा अध्ययनरत उनी अहिले सामन्य रूपमा पढ्न, लेख्नदेखि बैङ्कमा भौचर भर्न सक्ने भएको बताउन्छिन्।

उनले भनिन्, “दुई भाइ छोरामध्ये एउटा छोरा जापानमा छ। छोराले आमालाई सम्झेर पैसा पठाउँछ तर बैङ्कबाट पैसा झिक्न सक्ने अवस्था थिएन तर पढ्न थालेपछि अहिले आफैँ पैसा झिक्न सक्ने भएको छु, बैङ्क भौचर भर्न सक्छु।”

सुरु सुरुमा बुढेसकालमा किन पढ्नु प(यो भन्ने श्रीमान् र छोरासमेत अहिले आफ्नो पढाइबाट खुसी हुने गरेको उनको भनाई छ। उनले भनिन्, “सुरुमा श्रीमान्सँगै छोराहरूले पढ्न जान्छुभन्दा पनि मर्ने बेला किन पढ्नु प(यो ? घरमै बसे हुँदैन भन्थे। दिनभरि घरमा बस्नुभन्दा पढ्छु भनेर म आफ्नै जिद्दीले आएको थिएँ तर अहिले राम्रै मान्नुभएको छ, घरपरिवारका सबै सदस्यले पढ्नु पर्छ भन्नुहुन्छ।” नियमित पढ्न आउने गरेकी उनी ढिलै भए पनि १० कक्षासम्म पढ्ने चाहना भएको बताउन्छिन् । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्