Logo

नयाँ राष्ट्रपतिले पुरानो विधेयक प्रमाणीकरण गर्दा प्रक्रिया नपुगेको भनेर औंल्याउने ठाउँ छ : कांग्रेस नेता



काठमाडौं, २२ जेठ । नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप पौडेलले नेता पौडेलले नागरिक विधेयक प्रमाणीकरण गर्दा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रक्रियागत त्रुटि भएको बताएका छन् ।
‘अघिल्ला राष्ट्रपतिबाट संविधानको उल्लंघन भएको जगजाहेर छ । अहिलेका राष्ट्रपतिबाट पनि एक ढंगले प्रक्रियागत त्रुटि भएको अवस्था छ । किनभने अहिलेको राष्ट्रपतिले अघिल्लो संसदलाई चिन्दैन, अघिल्लो संसद्ले अहिलेका राष्ट्रपतिलाई चिन्दैन । वर्तमान राष्ट्रपतिलाई नयाँ संसद्ले निर्वाचित भएको हो । अहिलेका राष्ट्रपतिले चिन्ने अहिलेकै संसदलाई हो । पुरानो विधेयकलाई नयाँ राष्ट्रपतिले प्रमाणीकरण गर्दा प्रक्रिया नपुगेको भनेर औंल्याउन सक्ने ठाउँ छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै पौडेलले भने ।
नागरिकता विधेयकको विषयवस्तुमा भने कुनै समस्या नभएको उनको जिकिर छ । पौडेलले भने, ‘नयाँ संसद्मा यो विधेयक उत्पत्ति भएकै छैन । त्यहाँ दर्ता र छलफल गरेर पारित गरेर सभामुखले प्रमाणित गरेपछि मात्र राष्ट्रपतिले प्रमाणीकरण गर्ने हो । प्रतिपक्षले भनेजस्तो यो राष्ट्रघाती चाहिं होइन । यसको कन्टेन्ट केपी शर्मा ओलीले नै अध्यादेशमार्फत अघि बढाएको हो । धेरै दलहरुको सहमति हुन सक्ने विधेयकलाई प्रक्रिया पूरा गरेर प्रमाणीकरण गर्नुपर्थ्र्यो । यसको स्वीकार्यता बढाउने भनेको संसद्को बाटोबाटै हो ।’
सांसद पौडेलले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोध गर्न नहुने बताए । उनले भने, ‘भारत भ्रमणमा जानु अघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्लाई जसरी जानकारी गराउनुभएको थियो, फर्केर आएपछि भ्रमणमा के के भयो, के के हुन सकेन भनेर त्यसरी नै सदनलाई जानकारी गराउनु राम्रो हुन्थ्यो । त्यो जानकारी लिने अधिकार संसदलाई छ । तर सामान्य कुरालाई बढाइँचढाइ गरेर त्यसकै नाममा प्रतिपक्षले सदन अवरुद्ध गरेर प्रक्रिया रोक्नु उपयुक्त हुँदैन । संसद अवरोध गर्ने भन्दा पनि छलफल अगाडि बढाउनुपर्छ ।’ प्रधानमन्त्रीले भारत भ्रमणको यथार्थ सदनलाई जानकारी दिएर बाहिर आएका अनेक अफवाह निस्तेज गर्नुपर्ने पौडेलले औंल्याए ।
अर्को प्रसंगमा नेता पौडेलले नेपाली कांग्रेसमा बृहत्तर परिवर्तन आवश्यक रहेको औंल्याए । उनले भने, ‘पार्टीको कुरा आन्तरिक कुरा कति बोल्ने ? कति नबोल्ने ? आज कांग्रेसमाथि धेरै प्रश्न छन् । पार्टीमा नियमित छलफल र बैठक नै हुँदैन । कमीकमजोरी औंल्याउने ठाउँ नभएपछि कतिपय साथीहरुले पार्टीका अरू फोरममा बोल्नुपरेको छ । पार्टी सभापतिले आफ्नो आलोचना गरेकामा टिप्पणी गर्नुभएको छ । उहाँले साथीहरुलाई त्यसो भन्नु भन्दा प्रश्नै गर्न नसक्ने गरी, त्रुटिरहित, आलोचना गर्न नसक्ने गरी काम गर्नुपर् यो नि । आजको पारदर्शी दुनियाँमा कम्युनिस्ट पार्टीका सबै कुरा गोप्य रहन सक्दैन नि ।’ विशेष महाधिवेशन बोलाउने कि नबोलाउने, पार्टीमा बृहत् छलफल आवश्यक रहेको पनि उनले औंल्याए ।



प्रतिक्रिया दिनुहोस्