Logo

सिद्धार्थ बाल तथा महिला अस्पताल स्तरोन्नति गर्ने समझदारी



बुटवल, २२ जेठ । बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दाको स्तरोन्नति गर्न आम्दा इन्टरनेशनलसँग समझदारी भएको छ । समझदारीसँगै आम्दा अस्पताल तीन सय शय्यामा स्तरोन्नति हुने भएको हो ।

अस्पताल सञ्चालक समितिमा रहेका बुटवल उपमहानगरपालिका, आम्दा नेपाल र बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीको त्रिपक्षीय सहमतिमा अस्पतालमा दुई सय शय्या थप गर्दै स्तरोन्नति गर्ने समझदारी भएको हो ।

जापानको ओकायामास्थित एशोसिएसन अफ मेडिकल डक्टर्स अफ एशिया (आम्दा) इन्टरनेशनलका अध्यक्ष डा शिगेरु सुगानामी, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष उज्ज्वलप्रसाद कसजु, आम्दा नेपालका पूर्वअध्यक्ष डा ऋषिकेश श्रेष्ठ र आम्दा अस्पताल बुटवलका मेडिकल सुपरिन्टेन्डेन्ट डा राजेन्द्र बस्यालले अस्पताललाई तीन सय शय्यामा स्तरोन्नति गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

समझदारीअनुसार आम्दा इन्टरनेशनलले अस्पतालको स्तरोन्नतिका लागि आवश्यक आर्थिक, भौतिक र प्राविधिक सहयोग गर्ने अस्पतालका अध्यक्षसमेत रहेका बुटवल उपमहाननगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए । उनले तीनपक्षबीच भएको समझदारीले अस्पतालको स्तरोन्नति हुनुका साथै यस क्षेत्रमा स्वास्थ्य सेवा विस्तार गर्न सहयोग पुग्ने बताए । अस्पताललाई स्तरोन्नति गर्नुका साथै मेडिकल कलेजका रुपमा स्थापित गर्नका लागि आवश्यकताअनुसार प्रक्रिया अगाडि बढाउने गरी समझदारी भएको पाण्डेयले बताए ।

“गत असोजमा आम्दा इन्टरनेशनलका अध्यक्ष डा सुगानामीले अस्पतालको भ्रमण गरेको थियो । भ्रमणका क्रममा उनले अस्पतालको स्तरोन्नति गर्ने निर्णय भएको थियो । सोही निर्णयअनुसार आम्दा अस्पताललाई विशिष्टीकृत सेवासहितको स्तरीय अस्पताल बनाउने समझदारी गरिएको हो”, उनले भने ।

आम्दा इन्टरनेशनलका अध्यक्ष डा सुगानामीको निमन्त्रणामा जापानको ओकायामा पुगेको टोलीले त्यहाँ सञ्चालित अस्पतालको अवलोकन गर्दै आपसमा अनुभव आदानप्रदान गरेको थियो ।
अस्पतालको स्तरोन्नति पछि बुटवल क्षेत्रमा विशिष्टीकृत सेवासहितको अस्पतालका रुपमा अम्दा अस्पताल हुने बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष उज्ज्वलप्रसाद कसजुले बताए ।

आम्दा, बुटवल उद्योग वाणिज्य सङ्घ र बुटवल उपमहानगरपालिकाको सहकार्यमा विसं २०५३ मा बुटवल उपमहानगरपालिका वडा नं ७ मा ५० शय्याको सिद्धार्थ बाल तथा महिला अस्पताल स्थापना गरिएको थियो । हाल अस्पतालमा एक सय शय्या छन् । रासस



प्रतिक्रिया दिनुहोस्