Logo

संसद्मा सभामुखलाई दिक्क बनाउँदै दलहरुको दोहोरी



काठमाडौं,२२ जेठ । प्रतिनिधि सभाको आजको बैठकमा दलहरुले सामान्य मर्यादाको समेत ख्याल नराखी तथानाम दोहोरी खेलिरहेका छन् ।

प्रतिनिधिसभामा हिजोबाट सुरु भएको आगामी आर्थिक वर्षकोे बजेटमाथिको छलफलमा प्रमुख प्रतिपक्ष दल एमाले र अन्य दलहरुले निरन्तर विरोध गरेपछि हिजोको बैठक सभामुख देवराज घिमिरेले आजसम्मको लागि स्थगित गरेका थिए ।

आजपनि विहानदेखि दलका प्रमुख सचेतकहरुसँग छलफल गरेर बैठकको गतिरोध अन्त्य गर्ने कोशिस गरेका थिए । सचेतकहरुसँगको छलफलमा प्रधानमन्त्रीको भारतभ्रमणका सन्दर्भमा उठेका सबै प्रश्नोबारेमा प्रधानमन्त्रीले प्रष्टीकरण दिने र संसद सुचारु गर्ने सहमति भएको थियो ।

उक्त सहमति अनुसार सुचारु भएको बैठकमा पटक पटक अवरोध भएको छ । प्रधामन्त्रीले संसदमा प्रष्टीकरण दिएपछि प्रतिप्रश्न गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणबाट फर्कदा भैंसी चढेर फर्किए भनेपछि सत्तापक्षका सांसदले आपत्ति जनाएका थिए ।

सत्तापक्षका सांससदहरु आफ्नो कुर्सीबाट उठेर होहल्ला गरेपछि प्रतिपक्षका सबैदलहरु उठेर नारावाजी गरेपछि केही समय संसद्मा हंगामा मच्चिएको थियो । लामो रस्साकस्सी पछि भैसी चढेर आएको भन्ने सबै शब्द संसद्को रेकर्डबाट हटाउने सहमति भएपछि सभामुख देवराज घिमिरेले सदनको माहोल सामान्य बनाउने कोशिस गरेका थिए ।

माहोल सामान्य भएपछि प्रधानमन्त्रीलाई प्रतिप्रश्न गर्न चाँहने सांसदहरुलाई सभामुख घिमिरेले समय दिएका थिए । सभामुखले समय दिएपछि सांसदहरुले विभिन्न प्रश्न गरेका थिए ।

सांसदहरुको प्रश्नको उत्तर दिन सुरु गरेका प्रचण्डले “तपाईंले कन्टेन्मा होइन प्रक्रियामा हो प्रश्न उठाएको भन्नुभयो, धन्यवाद । नागरिकता विधेयक दुईदुई पटक संसद्बाट पारित भएर राष्ट्रपतिकोमा गएको थियो,” प्रधानमन्त्रीले भने, “उहाँले होल्ड गर्नुभयो, गर्नुहुँदैनथ्यो । संविधान उहाँबाट मिचिएको थियो ।” प्रधानमन्त्रीले  विधेयक फेरि सदनमा ल्याउने विकल्प भनेको अघिल्लो सदनले गरेको निर्णयको अपमान भएको बताए । त्यसपछि पुनः एमाले रास्वपा र राप्रपाका सांसदहरुले नागरिकता विधेयक अदालतमा विचाराधिन रहेको र प्रधानमन्त्रीले बोल्न नमिल्नेभन्दै नारावाजी गरेपछि सत्तापक्षले पनि प्रधानमन्त्रीले बोल्न पाउनुपर्ने भनदै नाराबाजी गरेका थिए ।

एमालेका सांसद सूर्य थापाले आपत्ति जनाए । सांसद थापाको आपत्तिपछि सत्तापक्ष र प्रतिपक्षका सांसदहरुबीच होहल्ला चल्यो । एमालेका अर्का सांसद रघु पन्तले अदालतले अन्तरिम आदेश दिइसकेको बेलामा प्रधानमन्त्रीले व्याख्या गर्न नमिल्ने बताए ।

सत्तापक्ष र प्रतिपक्ष दुबैले नारावाजी गर्दै लामो समयसम्म दोहारी खेलेपछि आर्जित मुद्रामा दखिएका घिमिरेले दिक्कमान्दै दलहरुलाई पटक-पटक बसेर अवस्था सामान्य बनाउन आग्रह गरेका थिए । पटक-पटकको सभामुखको आग्रहपछि बल्लतल्ल सदन सुचारु भएको छ । सदन सुचारु भएपछि अहिले सदनमा प्रचण्डले प्रतिप्रश्नको उत्तर दिइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्